बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको नाम र राजधानी बनिसकेका कारण यसमा दायाँबायाँ नहुने बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको सोमबार सम्पन्न नवौं जिल्ला सभालाई समबोधन गर्दै यस्तो बताएका हुन् ।

सभाको उद्घाटन सत्रमा प्रमुख अतिथी समेत रहेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी सार्ने र नाम परिवर्तन गर्ने कुरा आफूले उल्लेख नगरेको बताए ।

केही समयअघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेशको नाम र राजधानी पायक नभएको भन्ने कार्यक्रमका सहभागीहरुको भनाइलाई स्वभाविक भएपनि बनिसकेको र यसमा दायाँबायाँ नहुने स्पष्ट पारेका हुन् ।

सभाकै क्रममा जिसस मकवानपुरको आयव्यय विवरणसहित बजेट पारित गरिएको छ । सभाले जिसस मकवानपुरले गर्ने कार्यक्रमहरुको अख्तियारी प्रदान गर्ने, पछिल्लो समय जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।

यस्तै, भूकम्पबाट पीडित परिवारहरुका लागि मकवानपुरका सबै पालिकाहरुबाट जिससको समन्वयमा राहत संकलन गरि सहयोग गरिने निर्णय भएको छ ।

ढुंगा गिट्टी, बालुवाको निकासी सम्बन्धमा नीतिगत व्यवस्थाका लागि यथाशक्य छिटो व्यवस्थापन सम्बन्धमा अनुरोध गर्ने निर्णय सभाले गरेको छ ।

यसैगरि, लागु औषध गाँजाको वैकल्पिक व्यवस्थाका लागि प्रदेश र संघमा आवश्यक बजेट व्यवस्थापनका नीम्ति माग गर्ने निर्णय भएको हो ।

जिसस मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललेको प्रमुख आतिथ्यतामा सम्पन्न  सभामा संघिय सांसद महेश बर्तौला, बिन्दाबासिनी कंशकार, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमति प्रदेश सांसद प्रेमबहादुर पुलामी “छिन्तु” , पालिकाका प्रमुख एवम् उपप्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।