उत्शव काफ्ले – भोटेकोशी–त्रिशूली क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीले सडक, पुल, घर तथा भौतिक संरचनामा ठूलो क्षति पुर्यायो। कति परिवारका वर्षौँको मेहनत र सम्पत्ति बगायो भने धेरै परिवारलाई आफ्नाको खोजीमा भौँतारिनुपर्ने अवस्था बनायो।
हामी बाढीपछि प्रभावित क्षेत्रमा पुग्दा हिजोसम्म मानिसको चहलपहलले भरिएका ठाउँहरू भग्नावशेषमा परिणत भएका दृश्य देख्यौँ । कतै घरको नामोनिसान थिएन, कतै पुलका अवशेष मात्र बाँकी रहेका थिए। कतिपय परिवारले बाढीमा हराएका आफ्नाको अवस्था थाहा पाउने प्रतीक्षामा बसिरहेका थिए। यस्तै अवस्थाबीच हामी पनि उद्धार तथा खोजी कार्यमा लागी पर्यौँ।
अनुज प्रधानको नेतृत्वमा २०८३ भदौ ११ गतेदेखि भदौ २० गतेसम्म उत्सव काफ्ले, विनोद ढुंगाना, टीकाप्रसाद तिमिल्सिना लगायत नेपाल स्काउटका सदस्यहरू सहित प्रभावित क्षेत्रमा निरन्तर खटेयौँ। खटाइका दस दिन हाम्रो लागि केवल उद्धारमा बितेको समय नभइ विपद्को समयमा हामी मानिस एकअर्काका लागि कसरी उभिन्छौँ भन्ने अनुभवको समय थियो।
सिमित श्रोत र सुविधामा पनि आवश्यक सामग्री सकेसम्म आफ्नै खर्चमा व्यवस्थापन गर्यौँ। आफैँ खाना किनेर खायौँ, कहिले स्थानीय तथा अन्य सहयोगीले उपलब्ध गराएको खाना खायौँ। शारीरिक थकावट र मानसिक परिक्षाका बाबजुद खोजी तथा उद्धारको काम भने निरन्तर चलिरह्यो।
शव खोजीदेखि प्रहरीलाई हस्तान्तरणसम्म
चितवनमा खोजी तथा उद्धारका क्रममा हामीले केही शव फेला पार्यौँ। ती क्षण हाम्रा लागि निकै संवेदनशील थिए। फेला परेका शवहरू कसैका बाबु, आमा, छोरा, छोरी, दाजुभाइ वा जीवनसाथी थिए। शव फेला परेपछि प्रचलित प्रक्रिया तथा मापदण्डअनुसार मुचुल्का उठाई चितवनमा रहेका सम्बन्धित प्रहरीलाई हस्तान्तरण गर्यौँ। त्यतिबेला हाम्रो एउटै उद्देश्य के थियो भने हराएका व्यक्तिका परिवारले आफ्ना मान्छेको अवस्थाबारे चाँडोभन्दा चाँडो जानकारी पाऊन् ।
घरका भग्नावशेषमा भेटिएका सामान सम्बन्धितलाई फिर्ता
त्यसपछि हामी नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेर उद्धार कार्यमा निरन्तर खटियौँ। विद्यालयबाट करिब २–३ किलोमिटर तल रहेको देवीघाट बजार क्षेत्रमा पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दियौँ। बाढीले तहसनहस बनाएका घर तथा संरचनाको खोजी गर्ने क्रममा हामीले घरगहना, नगद, जिन्सी तथा अन्य महत्त्वपूर्ण सरसामान फेला पार्यौँ। ती सामान पहिचान गरी प्रहरीको रोहबरमा मुचुल्का उठाएर सम्बन्धित व्यक्तिलाई सुरक्षित रूपमा हस्तान्तरण गर्यौँ।
पीडितले लामो समयदेखि हराएको आफ्नो सामान फिर्ता पाउँदा देखाउने खुसीले हाम्रो थकानसमेत बिर्साइदिन्थ्यो। विपद्का बेला एउटा सानो सामानको महत्व पनि कति ठूलो हुँदो रहेछ भन्ने कुरा त्यहीँ पुगेर बुझ्यौँ।
तुइनबाट वारिपारि गराउनेदेखि पुल निर्माणमा सहयोगसम्म
बाढी तथा पहिरोका कारण विभिन्न स्थानका पुल बगाएपछि मानिसलाई वारिपारि आवतजावत गर्नसमेत कठिन भएको थियो। देवीघाट क्षेत्रमा आवतजावत प्रभावित भएपछि नेपाली सेनाको सहयोगमा हामी स्काउट सदस्यहरूले तुइनको व्यवस्था गरी स्थानीयलाई वारिपारि गर्न सहज बनाउने कार्यमा सहयोग गर्यौँ। त्यो अवस्थामा तुइन केवल नदी पार गर्ने साधन थिएन। प्रभावित मानिसको दैनिक जीवनलाई फेरि जोड्ने माध्यम बनेको थियो। यसै क्रममा नेपाली सेनाले तादी नदी—सूर्यमती हुँदै रसुवाको गोसाइँकुण्ड–सूर्यकुण्ड क्षेत्रबाट बग्दै नुवाकोटको देवीघाटमा आइपुग्ने नदी—मा बेली ब्रिज निर्माण गरिरहेको थियो।
बाटो र पुल नहुँदा रोकिएको जनजीवनलाई पुनः चलायमान बनाउने प्रयासमा हामी स्काउट सदस्यहरूले पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्यौँ। त्यो क्रममा उद्धारको अर्थ केवल बाढीमा हराएका मानिस खोज्नु मात्र होइन रहेछ भन्ने अनुभव भयो। बन्द भएको बाटो खोल्नु, नदी पार गर्न नसकिरहेका मानिसलाई वारिपारि गराउनु र निराश बनेका परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किन सहयोग गर्नु पनि उद्धारकै हिस्सा रहेछ।
विपद्को बीचमा देखिएको मानवता
भदौ ११ देखि भदौ २० गतेसम्म प्रभावित क्षेत्रमा रहँदा हामीले विपद्का अनेक दृश्य देख्यौँ। थाकेका शरीर, आँसु झरेका आँखा, हराएका आफन्त खोजिरहेका परिवार, बाढीले बगाएका घर, पुरिएका भवन र भत्किएका पुल—यी सबै दृश्य आँखाअघि थिए। तर त्यसभन्दा माथि अर्को दृश्य पनि देखियो—एकअर्कालाई सहयोग गर्न अघि बढिरहेका मानिसहरू। कसैले खाना दियो, कसैले पानी दियो, कसैले डोरी समात्यो, कसैले पुल निर्माणमा सहयोग गर्यो, कसैले शव खोज्यो र कसैले पीडितलाई सहारा दियो। विपद्को त्यो कठिन समयमा विभिन्न निकाय, स्थानीयवासी, स्वयंसेवक र सहयोगी हातहरू एकै ठाउँमा उभिएका थिए। हामी पनि त्यही मानवीय प्रयासको एउटा हिस्सा थियौँ।
हामी त्यहाँ आफ्नो नाम बनाउन गएका थिएनौँ। कसैको घरमा हराएको सामान फिर्ता गर्न, हराइरहेका आफन्त खोज्न र संकटमा परेका मानिसलाई सकेको सहयोग गर्न पुगेका थियौँ। उद्धारले दिएको सबैभन्दा ठूलो पाठ आज ती दिन सम्झँदा मन भारी हुन्छ। बाढीले घर, पुल, भवन, सम्पत्ति र मानिसका धेरै सपना बगाएर लग्यो। तर मानिसभित्रको मानवतालाई भने बगाउन सकेन।
समय बित्दै जाँदा बाटाहरू पुनः बन्नेछन्, पुलहरू ठडिनेछन् र बाढीले क्षतिग्रस्त भएका बस्तीहरू विस्तारै उठ्नेछन्। तर त्यसबेला देखिएका आँसु, आफ्ना मान्छे खोजिरहेका परिवारका आँखा र सहयोगका लागि अघि बढेका हातहरूको सम्झना भने लामो समयसम्म रहनेछ। विपद्का बेला हामीले आफ्नो क्षमताले भ्याएसम्म काम गर्यौँ। कसैको जीवन फर्काउन सकेनौँ होला, तर हराएको सामान सम्बन्धित व्यक्तिसम्म पुर्याउन सक्यौँ।
कसैको पीडा पूर्ण रूपमा हटाउन सकेनौँ होला, तर पीडाको समयमा साथ दिन सक्यौँ। सायद विपद्मा परेको मानिसका लागि त्यही साथ पनि ठूलो सहारा हुन्छ। बाढीले पुल बगायो, घर बगायो र बस्ती बगायो। तर मानिस–मानिसबीचको सम्बन्धको पुल भने अझ बलियो बनाएको अनुभव हामीले गर्यौँ। विपद्को समयमा मानवता नै सबैभन्दा ठूलो सहारा रहेछ भन्ने पाठ ती दस दिनले हामीलाई सिकायो। उद्धार कार्यमा साथ दिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, स्थानीयवासी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हामी हृदयदेखि नै सम्मान व्यक्त गर्दछौँ।





















प्रतिक्रिया दिनुहोस्