हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाका जेष्ठ नागरिक, अशक्त व्यक्ति, एकल महिला र सिमान्तकृत समुदायका सेवाग्राहीहरू सामाजिक सुरक्षा भत्ता नपाउँदा चिन्तामा परेका छन्। दशैं–तिहार जस्ता ठूला चाडबाडको बेला भत्ता नआएपछि उनीहरू दैनिक खर्चमै समस्या भोगिरहेका छन्।
गाउँपालिकाले दशैंअघि नै रकम निकासा गरिसके पनि प्रभु बैंकले भुक्तानी रोकेपछि सेवाग्राहीहरूले रकम लिन सकेका छैनन्। बैंकका अनुसार भीमफेदी वडा नम्बर-२ भैँसे शाखासँग नयाँ सम्झौता भएपछि नयाँ खाताको व्यवस्थापन र चेकबुक तयारीमा ढिलाइ भएको कारणले वितरण रोकिएको हो।
भीमफेदी जेष्ठ नागरिक संगठनका अध्यक्ष गोपाल शर्माले भत्ता रोकिएकोप्रति असन्तोष व्यक्त गर्दै तत्काल वितरण गर्न माग गर्नुभएको छ। उनले भने, “चाडपर्वमा सहयोगस्वरूप आउने यो रकम रोकिनु निकै दुःखद् कुरा हो, तत्काल वितरण हुनुपर्छ।”
दलगत संयन्त्रले पनि चाडपर्व नजिकिँदै गर्दा भत्ता तत्काल वितरण गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका प्रमुख जीवन कुँवरले वडा नं. १ देखि ९ सम्मको रकम निकासा भइसकेको बताउँदै, हाल कार्तिक महिनाभर नयाँ नाम दर्ता र संशोधनको काम भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार, “संशोधन कार्यसँगै थाती राखिएका नामबाहेकका सेवाग्राहीलाई रकम वितरण गर्न बैंकलाई निर्देशन दिइएको छ।” स्थानीयले भने, चाडपर्वको बेला सरकारले दिने भत्तामै खर्च मिलाउने गरेका कारण रकम समयमा नपाउँदा धेरै परिवार प्रभावित भएका छन्।

















प्रतिक्रिया दिनुहोस्