हेटौंडा । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ । प्रेस सेन्टरले नतिजा त्रुटिपूर्ण, अन्यायपूर्ण र पूर्वाग्रही भएको आरोप लगाउँदै तत्काल पुनर्मूल्यांकन गर्न काउन्सिलको ध्यानाकर्षण गराएको छ ।

प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा वर्गीकरण प्रक्रिया नै अपारदर्शी र मनोमानी ढंगले अघि बढाइएको उल्लेख गरिएको छ । विशेषगरी ग्रामीण भेगबाट प्रकाशित तथा साना लगानीमा सञ्चालित पत्रपत्रिकाप्रति निर्णयमा विभेद देखिएको भन्दै सेन्टरले काउन्सिलको कार्यशैलीले पत्रकार तथा प्रकाशकहरू निरुत्साहित भएको टिप्पणी गरेको छ ।

विज्ञप्तिमा काउन्सिलका पदाधिकारी चयनदेखि निर्णय प्रक्रियासम्म पक्षपात देखिएको दाबी गर्दै यस्तो अन्यायपूर्ण वर्गीकरणले काउन्सिलको निष्पक्षता र विश्वसनीयतामा गम्भीर प्रश्न उठेको उल्लेख छ । सेन्टरले स्थलगत अध्ययन, प्रमाण र तथ्यका आधारमा वर्गीकरण नतिजाको पुनर्मूल्यांकन गरी सच्याउन माग गरेको छ ।

अन्यथा पत्रकार तथा अन्यायमा परेका सञ्चारमाध्यमसँगै कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत प्रेस सेन्टरले दिएको छ । विज्ञप्तिमा प्रेस सेन्टर नेपालले स्वतन्त्र, निष्पक्ष र समान व्यवहारमा आधारित पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता प्रकट गरेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी