काठमाण्डौं स्थित माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सातबुँदे सहमति भएको छ ।

सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमतिपत्रमा हस्ताक्षर पछि माइतीघर मण्डलामा थालेको धर्ना पनि स्थगित भएको छ ।

सहमतिअनुसार आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने भएको हो ।

सहमती अनुसार कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने छ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने छ ।

आगामी आर्थिक वर्ष पुँजीगत विकास बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने पनि सहमतिमा उल्लेख गरिएको हो ।
आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आवश्यक पर्ने अनुमतिका लाागी कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ ।