बागमती प्रदेशको राजधानी हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता हुने भएको छ ।
मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

हेटौंडा–४, परिजातपथमा रहेको कभर्ड हलमा आइताबार पत्रकार सम्मेलनको आयोजना गरी फाल्गुन ३० गतेबाट शुरु भई चैत ४ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराइएको हो ।

बागमती प्रदेश सााजिक विकास मन्त्री कुमारी मोक्तानद्धारा कार्यक्रमको उद्घाटन गर्ने र प्रतियोगिताका लागि करिव ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १७८ जना खेलाडीले सहभागीता जनाउने र त्यसमध्य १ सय ५० जना पुरुष र २८ जना महिला रहेको मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष तथा कार्यक्रम संयोजक दीपेश जोशीले बताए ।

संयोजक जोशीले बताए अनुसार प्रतियोगितामा १७ बर्षदेखि २१ बर्ष उमेरसम्मका खेलाडीले सहभागीता जनाउने छन् ।

प्रतियोगितामा सहभागिता नजनाएका नयाँ खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउने र प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्ने छन् ।

खेलमा पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

 

विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा प्रतिस्पर्धी भई मेडल प्राप्त गरेका २३ जना खेलाडीलाई सम्मान गरिने छ ।

उक्त खेलमा हेटौंडा उपमहानगर५ का वडाध्यक्ष सुशील घिमिरेले प्रत्येकदिन खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।

प्रतियोगिता हरेक बर्ष आयोजना गरिने जानकारी दिदै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र वेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ । राम्रो खेल्दा–खेल्दै पनि हारेका एकजना वेष्ट लुजरलाई पुरस्कृत गरिने संयोजक जोशीले बताएका हुन् ।