फुलह्यामले सोमबार च्याम्पियसिपमा लुटनमाथि ७–० को सानदार जित हात पार्‍यो। सो जितमा नायक रहे सर्बियाका स्ट्राइकर एलेक्जेन्डर मित्रोभिच,जसले यस सिजन च्याम्पियन्ससिपमा ४३ गोल गरे। फुलह्यामका प्रशिक्षक मार्को सिल्भाले मित्रोभिचको प्रभावशाली प्रदर्शन आगामी सिजन आफूहरूका लागि इङ्लिस प्रिमियर लिगमा ठूलो हतियार हुने बताए। प्रिमियर लिगबाट पछिल्लो पटक रेलिगेसन पर्दा मित्रोभिचले मात्र ३ गोल गरेका थिए।

‘यस सिजन मित्रोभिच उत्कृष्ट लयमा छन्। यो लयले उनको मनोबल बढाएको छ,’ सिल्भाले भने, ‘क्लबकै लागि उनको लय ठूलो हतियार हो। हामीले प्रत्येक सिजन प्रदर्शन सुधार गर्दै जानुपर्दछ। उनले आगमी सिजन प्रिमियर लिगमा कति गोल गर्छन्, त्यसै उनको मूल्यांकन गर्नु उपयुक्त हुँदैन। हामीलाई अन्य कोणबाट पनि हेर्नुपर्छ। हामीले आफूलाई शीर्ष टोलीविरुद्ध भिड्नका लागि सधैं तयार राख्नुपर्दछ। हामीसामु ठूलो चुनौती छ र हामी त्यसलाई चिर्दै अघि बढ्न तयार छौं।’

घरेलु मैदानमा अन्तिम खेलमा उत्रनुअघि नै फुलह्याम च्याम्पियनसिप विजेताका रूपमा प्रिमियर लिगमा बढुवा भइसकेको थियो। फुलह्याम ४५ खेलमा ९० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको एएफसी बर्नामाउथको ४४ खेलमा ८२ अंक छ। तेस्रो स्थानको नटिङ्घम फरेस्ट र चौथो स्थानको हडर्सफिल्डको समान ७९ अंक छ। पाँचाैँ स्थानको सेफिल्ड र छैटौं स्थाको लुटनको समान ७२ अंक छ। सातौ स्थानको मिडल्सब्रोको ७० अंक रहेको छ। शनिबार घरेलु मैदानमा रिडिङविरुद्ध जित हात पारेमा लुटनले प्लेअफको टिकट पक्का गर्नेछ। तर सो खेलमा जितबाहेकको नतिजा निस्किएमा भने मिडल्सब्रोले प्लेअफ दौडमा लुटनलाई पछि पार्नेछ।

‘हामी कठिन समयबाट गुज्रिरहेका छाैँ,’ लुटनका प्रशिक्षक नाथन जोन्सले भने, ‘तर यस सिजन च्याम्पियनसिपमा फुलह्याम सबैभन्दा उत्कृष्ट टोली हो। बधाई छ फुलह्याम। हाम्रो टोलीमा पहिलो रोजाइका नौ खेलाडी घाइते छन्। त्यसैले टोलीले स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न सकेन। आशा छ, शनिबार हामीले रिडिङविरुद्ध सहज जितसहित प्लेअफको टिकट पक्का गर्नेछौं।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो