उपन्यासकार लीलाध्वज थापाको १०२औँ जन्मजयन्तीका अवसरमा लीलाध्वज थापा साहित्यिक प्रतिष्ठानले प्रा गोपीकृष्ण शर्मालाई साहित्यिक सम्मान गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सम्मान एवं पुरस्कार वितरण गर्नुहुँदै उपन्यास क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका थापाका नाममा स्थापना भएको प्रतिष्ठानले पुर्खाप्रतिको सम्मान प्रकट गरेको बताउनुभयो ।

कार्यक्रममा बिके पाल्पालीको लीलाध्वज थापा जीवनी काव्य, विजयध्वज थापाको रहस्य गहिरो छ मुक्तक सङ्ग्रह र सरिता केसीको विजयध्वज थापा व्यक्ति र कृति लोकार्पणसमेत गरिएको थियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा जगतप्रसाद उपाध्याय, डा भागवत ढकाल, समीक्षक डा रामप्रसाद ज्ञवाली, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलगायतले थापाले नेपाली उपन्यास क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
–––रासस