हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान जोगाएर घर फर्किन सफल भएका हेटौंडा उपमहानगर –१५ का नवीन सिङतान र राजेन्द्र थापा मगरलाई हेटौंडामा स्वागत गरिएको छ ।
बाढीको जोखिमपूर्ण अवस्थाबाट सकुशल फर्किएका दुबैलाई हेटौंडा १५ का वडाध्यक्ष सुनिल मोक्तान सहित स्थानीहरुले स्वागत गरेका हुन् । घटनाको सुरुवातीदेखि नै बेपत्ता नागरिकहरूको खोजी गर्नदेखि भरतपुर, मध्यबिन्दु अस्पतालबाट कानुनी प्रक्रिया पूरा गरेर शव पहिचान गरी पार्थिव शरीर ल्याउने काममा वडा अध्यक्ष मोक्तान सक्रिय रहेका थिए । अकालमा जीवन गुमाएका परिवारलाई विपदको यो कठिन समयमा पीडामा थोरै मल्हम लगाउन भन्दै वडाको तर्फबाट ५०-५० हजार रुपैयाँ राहत स्वरूप आर्थिक राहतको समेत घोषणा गरेका हुन् ।
जोखिमपूर्ण स्थितिमा परेका आफ्ना वडाबासीको चासो राखेर जिल्ला प्रशासन र सुरक्षा निकायसँगको निरन्तर समन्वयमा सुरक्षित रूपमा घर ल्याउन सफल भएको भन्दै स्थानीयले खुसी व्यक्त गरे ।
सोही घटनामा हेटौंडा–१५ का सुमन गोले र रमेश मगरको मृत्यु भएको छ भने हीरा स्याङतान अझै बेपत्ता छन्। उनको खोजी जारी रहेकाले सकुशल भेटिने आशा रहेको अध्यक्ष मेक्तानले बताए । विपत्तिको समयमा वडावासीबीच एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै दुःखको घडीमा हरेकले आफ्रनो तर्फबाट सकेको सहयोगी हात बढाउनुपर्ने अध्यक्ष मोक्तानले बताए ।
अध्यक्ष मोक्तान भन्छन् “विपद्को समयमा प्रशासनिक भूमिकामा मात्र रहने होइन जनप्रतिनिधिहरू नागरिकको दुःखमा प्रत्यक्ष साथमा उभिनुपर्छ भन्ने सोच हो । जसले ज्यान गुमाउनुभयो हामी दुखी छौँ । यस असह्य परिस्थितिमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् ।”



















प्रतिक्रिया दिनुहोस्