भोजराज संजेल – जीवन सधैं सीधा र सजिलो हुँदैन। कहिले उकालो चढ्नुपर्छ, कहिले ओरालो झर्नुपर्छ। कतिपय पलहरू रमाइलो र खुसीले भरिन्छन् भने कतिपय पलहरू दुःख र निराशाले पनि घेर्छन्। तर यही उतार चढावले जीवनलाई वास्तविक अर्थ दिन्छ।

हामीमध्ये धेरैलाई लाग्छ यदि सबै कुरा सहज भए त कस्तो हुन्थ्योरु तर सजिलो जीवनले प्रगति ल्याउँदैन। कठिनाइ र संघर्षले नै मानिसलाई धैर्यवान, बलियो र आत्मविश्वासी बनाउँछ। आँधीबेहरीसँग जुध्न सिकेको व्यक्ति मात्र भविष्यमा आउने ठूलो चुनौतीसँग डटेर उभिन सक्छ।

जीवनमा दुःख त पक्का छ, तर निराशा भने हाम्रो रोजाइ हो। जो दुःखलाई हार ठान्छ, ऊ भत्किन्छ। तर जसले त्यसलाई अवसरको रूपमा लिन्छ, ऊ उठ्छ र अझ दृढ भएर अघि बढ्छ। यही सोच जीवनलाई परिपक्व बनाउने आधार हो।

जीवन छोटो छ, तर हामी प्रायः सानातिना झगडा, चिन्ता र अनावश्यक काममा समय गुमाउँछौं। वास्तवमा भने जीवनका मूल्यवान पलहरू परिवारसँग बिताउन, मित्रतामा खुसी बाँड्न, ज्ञान आर्जन गर्न र समाजका लागि केही योगदान गर्न प्रयोग गर्न सकिन्छ।

अन्ततः जीवनको अन्तिम सत्य मृत्यु हो। तर मृत्यु डराउने कुरा होइन, बरु सम्झाउने कुरा हो आजै गर्ने काम ढिलो नगर्न, बाँकी माया भोलिसम्म नछाड्न, र समाजलाई केही दिन सक्ने खालको काम गर्न।

जीवन सफल त्यतिबेला हुन्छ जब हामी आफैं मात्र होइन, अरुलाई पनि खुसी दिन सक्छौं। धन सम्पत्ति र पद प्रतिष्ठा क्षणिक हुन्छन्, तर सद्भावना, इमानदारी र सेवाभाव सधैं बाँकी रहन्छन्।