हेटौंडा ।  १२५ वर्षको गौरवशाली इतिहास बोकेको देशको सबैभन्दा पुरानो सञ्चार गृह गोरखापत्र संस्थान अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको अध्यक्षतामा  बुधबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार बिहीबार सामाजिक सुरक्षा कोषसँग आबद्ध हुने समझदारी (एमओयु) भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार आयोजित आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा गोरखापत्र संस्थान र सामाजिक सुरक्षा कोषबीच समझदारीपत्र आदान प्रदान गरिएको थियो। समझदारीपत्रमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
संस्थानका अनुसार यो निर्णय लागू भएपछि अस्थायी प्रकृतिमा कार्यरत पत्रकार तथा कर्मचारी गरी कम्तीमा १५४ जनाले प्रत्यक्ष रूपमा सामाजिक सुरक्षा सुविधाको लाभ लिन पाउनेछन् । यसले संस्थानभित्र कार्यरत जनशक्तिको सुरक्षा, मर्यादा र दीर्घकालीन पेशागत स्थायित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रेस सेन्टर नेपालले विगत धेरै वर्षदेखि उठाउँदै आएको र यस वर्ष सम्बन्धित मिडिया हाउसमा ध्यानाकर्षण गराएका विषयमध्ये यो यसले पूर्णता पाएको छ। यस कार्यको पहल गरेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई संस्थानले धन्यवाद व्यक्त गरेको छ । बिहीबार भएको सम्झौता अनुसार अब गोरखापत्र संस्थानका पत्रकार र कर्मचारीले सामाजिक सुरक्षा कोषअन्तर्गतको सुविधा पाउने हुँदा, उनीहरुको पेशागत जीवन अझ सुरक्षित र सम्मानजनक बन्ने विश्वास गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी