नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायले कांग्रेसलाई शुद्धीकरण गरेर अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस हेटौंडा नगर समितिको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री उपाध्यायले यस्तो बताउनुभएको हो ।

पार्टीमा ४६ सालदेखि अहिलेसम्म सधैं शद्धीकरणको आवाज उठ्दै आएको बताउनुहुँदै उहाँले बाहिर सडकमा र सामाजिक सञ्जालमा मात्र नभई पार्टीभित्रैबाटै शुद्धीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । पार्टीको मूल अवधारणा नै पार्टीभित्रै लड्ने र शुद्धीकरण गरेर जानुपर्ने उहाँले बताउनुभयो ।

अहिले पार्टीमा गतल गरिरहेनहरु मात्र मौलाएको बताउनुहुँदै उहाँले नेतृत्व सुध्रिन आवश्यक रहेको बताउनुभयो । कांग्रेसले लिएको विचार गन्तव्यमा अझै पुग्न नसकेको उहाँको भनाई छ । कांग्रेसप्रति विचलित हुन जरुरी नभएको र अहिले आएको नयाँ पार्टीहरुबाट डराउनु नपर्ने उहाँले बताउनुभयो ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र १ का उम्मेदवारसमेत रहनुभएका उपाध्यायले आफूलाई पार्टीभित्रबाटै चुनाव हराउन लागि परेको आरोप लगाउनुभयो । उहाँले एउटा महिलालाई पटकपटक हराउने तत्वविरुद्ध मकवानपुरका नेता कार्यकर्ताहरु किन नलागेको र नबोलेको भनी प्रश्नसमेत गर्नुभयो । पार्टीको नेतृत्वमाथि आक्षेप लगाएर विभिन्न सामाजिक सञ्जालमा जथाभावी लेख्ने नेता कार्यकर्ताहरुलाई कारबाही गर्न प्रदेश सभापति र जिल्ला सभापतिलाई उहाँले चुनौती दिनुभयो ।

पार्टीको चुनावमा हारे पनि कांग्रेसको राजनीतिमा कहिल्यै नहारेको उहाँले बताउनुभयो । उहाँले पार्टीलाई आगामी निर्वाचनमा बलियो र सशक्त बनाएर लानुपर्ने बताउनुभयो । मकवानपुर जिल्लाबाट अहिलेसम्म सांसद बनेकाहरु कसैले केही काम नगरेको उहाँले बताउनुभयो । जिल्लामा १ सय २० उद्योग भएपनि २० उद्योग पनि राम्ररी नचलेको अवस्था रहेको बताउनुहुँदै उहाँले अहिलेसम्म जनप्रतिनिधिहरुले कुनै काम नगरेको आरोप लगाउनुभयो ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले पार्टीभित्रको कमीकमजोरीलाई आत्मसात गर्दै सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो । पार्टीभित्र कुनै आग्रह र पूर्वाग्रह नराखी एकताबद्ध भएर गएमा कांग्रेस बलियो बन्ने उहाँको भनाई छ ।

विकास निर्माणको कार्यहरुमा व्यक्तिको नाम मात्र नभई पार्टीको पनि नाम लिनुपर्ने उहाँले बताउनुभयो । अहिले सबैले नयाँपन खोजिरहेको बताउनुहुँदै समयअनुसार कांग्रेसले विचार र सिद्धान्तलाई पनि नयाँपन दिनुपर्ने बताउनुभयो ।

यस्तै, पार्टी बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनतासँग सधैं भ्रम र झुठ बोल्न नसक्ने बताउनुभयो । पार्टीले गठबन्धनको नाममा अरुका लागि मत माग्नुपर्ने अवस्थाले अहिले कार्यकर्तामा निराशा फैलिएको बताउनुभयो । उहाँले भ्रम र झुटको राजनीति गर्ने कोही टिक्न नसक्ने बताउनुभयो ।

राजनीति गर्नेहरुमा जीत–हारलाई सधैं आत्मसात गर्ने क्षमता हुनुपर्ने उहाँले बताउनुभयो । पार्टीभित्रको समस्यालाई पार्टीबाटै समाधान गर्नुपर्ने भन्दै उहाँले बाहिर र विभिन्न सामाजिक सञ्जालमा व्यक्त गरेर पार्टीको बदनाम गर्ने काम गर्न नहुने बताउनुभयो ।

पार्टी नगर समितिका सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको सम्मेलनमा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ र सञ्जिता खड्का, जिल्ला सभापति बुद्ध लामा, पूर्वसभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने र आनन्दराम पराजुलीलगायतको उपस्थिति रहेको थियो ।