सुदूरका दुई देश रुस र युक्रेनबीच बढ्दो तनाव सैन्य आक्रमणमा बदलिएपछि विश्व समुदायको ध्यान त्यतातर्फ मोडिएको छ । युक्रेनको पूर्वी सीमा दुई राज्यलाई रुसले छुट्टै देशको मान्यता दिने घोषणा गरेसँगै बिहीबार सैन्य आक्रमण सुरु भयो । युद्धसँगै त्यसका मानवीय र भौतिक क्षतिका परिणाम बढ्न थालेका छन् ।

सँगै त्यसबाट पर्ने आर्थिक असरका विषयमा समेत विभिन्न कोणबाट चर्चा सुरु हुन थालिसकेका छ । रुसले युक्रेन सङ्कटले विश्व अर्थतन्त्र मन्दीतर्फ जाने चिन्ता व्यक्त गर्न थालिएको छ । विश्व कुल गार्हस्थ्य उत्पादनमा यी दुई मुलुकको हिस्सा दुई प्रतिशत जति छ । रुस पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको मुख्य उत्पादक र भण्डारण गर्ने मुलुक हो भने युक्रेनको कृषि उत्पादनले विश्वको ठूलो जनसङ्ख्यालाई भरणपोषण गरिरहेको छ । युक्रेन विश्वको पाँचौँ ठूलो गहु निर्यातकर्ता मुलुक हो ।

इसलाई दोस्रो विश्वयुद्धपछि युरोपमा सिर्जित सबभन्दा ठूलो सङ्कटका रूपमा लिएको पाइन्छ । यसले युरोपलगायत विश्वकै आर्थिक पुनरुत्थानमा सर गरेको मानिएको छ । भूराजनीतिक तनावका कारण आपूर्ति शृङ्खलामा व्यवधान आउने र मुद्रास्फीति बढ्ने आकलन गरिएको छ । यो प्रभाव कति धेरै समयसम्म रहन्छ र कति ठूलो हुन्छ भन्ने कुरा सङ्कट कति लामो सयमसम्म रहन्छ भन्नेमा निर्भर हुनेछ । विश्लेषकहरूले रुसको लक्ष्य स्पष्ट नभए पनि युक्रेनको सरकार परिवर्तन गरी रुस अनुकुलको सरकार बनाउनेदेखि युरोपकै राजनीतिक नक्सा परिवर्तन हुनेसम्मको अनुमान गरेका छन् । आयातमा निर्भर नेपालको अर्थतन्त्र पनि यी दुई देशबीचको विवादका कारण प्रभावित हुने देखिन्छ 

वैदेशिक व्यापार
यी दुई देशसँग नेपालको कुल आयात व्यापार चालू आव २०७८/७९ को सात महिनासम्म करिब १९ अर्ब रुपियाँ पुगेको छ जसमध्ये युक्रेनबाट १४ अर्ब ४२ करोड र रसियाबाट चार अर्ब ३१ करोड रुपियाँको आयात भएको छ । आयातको तुलनामा निर्यात अत्यन्त कम छ । रुसमा नेपालले सात महिनासम्म १५ करोड ११ लाख रुपियाँ र युक्रेनमा १५ लाख ७८ हजार रुपियाँको वस्तु निर्यात गरेको छ ।

रसियाबाट नेपालले खासगरी सुकेको केराउ, तोरी, सूर्यमुखी तेलको कच्चापदार्थ, पत्रिकाको कागजजस्ता वस्तु आयात गरेको छ भने कालो चिया, गलैँचा, अगरबत्तीलगायतका वस्तु निर्यात गरेको छ । त्यस्तै युक्रेनबाट मुख्य गरी कच्चा भटमास र सूर्यमुखी तेल आयात गरेको छ भने गलैँचा र यार्चागुम्बालगायत निर्यात गरेको छ । दुई देशबीचको विवादका कारण यी देशहरूसँग हुने नेपालको व्यापार स्वाभाविक रूपमा प्रभावित हुनेछ । खासगरी खानेतेल आयात प्रभावित हुँदा नेपालमा त्यसको भाउ बढ्ने देखिन्छ । त्यस्तै पेट्रोलियम आपूर्ति अवरुद्ध हुँदा विश्व बजारमा त्यसको मूल्य बढ्ने र जसको सोझो असर नेपालमा देखिने अनुमान छ ।

इन्धनमा सङ्कट बढ्ने आशङ्का
रुसी अर्थतन्त्र ग्यास तथा इन्धन बिक्रीमा ठूलोस्तरमा निर्भर छ । युरोपेली सङ्घका मुलुकमा प्राकृतिक ग्यासको ४० प्रतिशत हिस्सा रुसबाट आउँछ । बेलायतमा यो तीन प्रतिशत छ । रुस युक्रेन सङ्कटले विश्व बजारमा पेट्रोलिम पदार्थको मूल्य अकाशिने आकलन गरिएको छ । केहीले सङ्कट गहिरिँदै गए कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० देखि १४० डलर पुग्ने अनुमान गरेका छन् ।

यो समाचार गोरखापत्र मा साभार छ