नेपाली कांग्रेसले दाबी गर्दै आएको घोराही उपमहानगरको नेतृत्व नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसका आम कार्यकर्ताहरू विभाजित देखिए।
गठबन्धनको निर्णयलाई ‘प्रतिगमन’ रोक्ने अस्त्रका रूपमा बुझेका कांग्रेसीहरूको एक तप्काले यो निर्णयलाई सहर्ष स्वीकार्यो भने आफ्नो जीत ‘सुनिश्चित’ रहेको दाबी गरिएको उपमहानगरमा माओवादी केन्द्रलाई नेतृत्व दिइने गलत निर्णय भएको भन्दै कांग्रेसको अर्को तप्का आक्रोशित बन्यो।
उपमहानगरमा भएको भागबन्डाको निर्णयले दुईधारमा उभिएका कांग्रेसीहरूका कारण गठबन्धनलाई आगामी स्थानीय तहको निर्वाचन सहज नहुने आकलन विपक्षी दलहरूका तर्फबाट भैरहेका छन्। अहिले घोराही उपमहानगरको नेतृत्व गरिरहेको एमाले भने कांग्रेसभित्रको यही ‘बेमेल’ कायम रहने र त्यसको फाइदा आफूलाई पुग्नेमा पुरापुर आशावादी देखिन्छ। उता अघिल्लो स्थानीय तहको निर्वाचनमा चौथो दलका रूपमा रहेको राप्रपा पनि कांग्रेसभित्र अहिले देखिएको मतभेदलाई अधिक ‘उपयोग’ गर्न सकिनेमा आशावादी छ। ‘गठबन्धनको कार्यान्वयन फितलो नै भएको खण्डमा पनि त्यसको फाइदा राप्रपालाई स्वाभाविक रूपमा हुन्छ’, राप्रपाका एक जिल्ला नेताले भने– ‘तर त्यो फाइदालाई मात्रै हामीहरूले हेरेका छैनौं, हामीहरू हाम्रो सांगठनिक अवस्थालाई पनि मजबुत बनाएर अघि बढ्छौं।’
उपमहानगरको नेतृत्व भागबण्डामा देखिएको कार्यकर्ता पंक्तिको असन्तुष्टि सम्बोधन गर्न कांग्रेस र माओवादी लगायतका सत्तारुढ गठबन्धनमा रहेका दलहरू लागेका छन्। साथै उनीहरूले अहिले देखिएको भागबण्डामा चित्त नबुझ्दाको सामान्य असन्तुष्टि मात्रै भएको भन्दै गठबन्धनको कार्यान्वयन बलियो रूपमा हुने दाबी गरेका छन्। वडा तहसम्मै पुगेर कार्यकर्तालाई कन्भिन्स गर्ने योजना बनाएको कांग्रेसले गठबन्धनलाई ‘प्रतिगमन’ भित्रन नदिने बलियो अस्त्रका रूपमा बुझाउने जनाएको छ।
गठबन्धनले हारे एमालेको जीत हुने र एमालेले यसअघि निम्त्याएको प्रतिगमन पुनः दोहोरिने भन्दै कांग्रेसले कार्यकर्ताहरूलाई सचेत बनाइरहेको छ। ‘मुलुकमा प्रतिगमन बिरुद्ध यो गठबन्धन बनेको हो र यो गठबन्धनले तय गरेका उम्मेदवारहरूलाई मत हाल्नै पर्छ भन्ने सन्देश हामीहरूले कार्यकर्ताहरूलाई दिइरहेका छौं, साथीहरू कन्भिन्स भैरहनु भएको छ’, कांग्रेस जिल्ला उपसभापति गिरीराज सुवेदीले भने– ‘यो सन्देश लिएर हामीहरू वडातह सम्मै पुग्ने छौं, हाम्रा साथीहरू गठबन्धनप्रति प्रतिवद्ध भएर लाग्नु हुनेछ, यसमा दुईमत रहन्न।
गठबन्धनले हारे एमालेको जीत हुने सन्देश दिएको कांग्रेसले हिजो संविधान कुल्चेको एमालेको जीतका निम्ति सचेत रहन कार्यकर्ताहरूलाई सुझाइरहेको छ। ‘ हाम्रो लडाईं हिजो संविधान कुल्चिएर मुलुकमा प्रतिगमन लाद्ने एमालेसँगको हो’, सुवेदी भन्छन्– ‘त्यो लडाईं जित्नका लागि एमालेलाई हराउनै पर्छ, एमालेलाई हराउन गठबन्धनलाई जिताउनै पर्छ भन्नेमा साथीहरू कन्भिन्स हुनुहुन्छ।’
‘गठबन्धनको जीत प्रतिगमन बिरुद्धको जीत’लाई पहिरो नारा बनाएको कांग्रेसका हरेक एकाइले गठबन्धनको बलियो कार्यान्वयनका लागि कार्यकर्ता पंक्तिलाई सम्झाइरहेका छन्। घोराही उपमहानगर रहेको कांग्रेसको क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्काले विभिन्न माध्यमबाट केही असन्तुष्ट देखिएका कांग्रेसीहरूलाई गठबन्धनको अपरिहार्यताका बारेमा बुझाइ रहेको बताए।
‘घोराही उपमहानगरमा कांग्रेसले नेतृत्वको टिकट पाउनु पर्छ भन्ने त हामी पनि थियौं, तर गठबन्धनका बीचमा सहमति गर्दा यहाँ कांग्रेसले पाएन’, क्षेत्रीय सभापति खड्काले भने– ‘तर कांग्रेस सहभागी गठबन्धनले निर्णय नै गरिसकेपछि अब पार्टीको निर्णयलाई सच्चा सीपाही बनेर कार्यान्वयन गरिनु पर्छ, नेतृत्व नपाउँदाको सानो असन्तुष्टि अब सकिनु पर्छ भनेर हामीहरूले सन्देश दिइरहेका छौं, र कुनै घात अन्तरघात भन्ने कुरा कांग्रेसबाट हुँदैन।’
त्यसो त, घोराही उपमहानगरमा उपमेयर कांग्रेसको भागमा परेको छ। फलतः कांग्रेसको उम्मेदवार पनि सँगसँगै रहने भएकाले आम कांग्रेसीहरूको मनोभाव गठबन्धन प्रति प्रतिवद्ध हुने उनको भनाइ छ। उता तुलसीपुर उपमहानगरपालिकामा मेयर / उपमेयर दुवै पद नपाएको माओवादी केन्द्रका कार्यकर्ताहरूमा पनि केही असन्तुष्टि छ। यो उपमहानगरमा कांग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयर पाउने गरी भागबन्डा गरिएको छ तर माओवादीले मेयर वा उपमेयर मध्ये एक पद पाउनु पर्नेमा कुनै पनि नपाउनुको दुखेसो आम कार्यकर्तामा देखिन्छ। त्यहाँ सिर्जित असन्तुष्टिहरूलाई माओवादीका वडा कमिटीहरूले सम्बोधन गरिरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए। उनले भने– ‘माओवादीले मेयर उपमेयर केही पनि नपाएको भनेर स्वाभाविकै रूपमा कार्यकर्ता पंक्तिमा असन्तुष्टि उब्जनु सामान्य कुरा हो, त्यो असन्तुष्टिलाई वडाहरूले सम्बोधन गरिरहेका छन्।’ माओवादीले तुलसीपुरमा पदविहीन हुनु परेकाले घोराहीको नेतृत्व प्राप्त गरेको भन्दै कार्यकर्ताहरूलाई सम्झाइरहेका छन्।
त्यसो त गठबन्धनको पूर्ण कार्यान्वयन गरेर जाने नेतृत्वको नीति रहेको भन्दै माओवादीका कार्यकर्ताहरूले नेतृत्वको यो नीतिलाई कदापि नकुल्चने केन्द्रीय सदस्य आचार्यले बताए। उनले भने– ‘गठबन्धन प्रतिगमनको खिलाफमा जोडिएको शक्ति हो र यसको कार्यान्वयन हुनुपर्छ भन्ने नीति नेतृत्वले तय गरेको छ, यसर्थ यो नीति विपरीत कुनै पनि माओवादी साथीहरू जानु हुने छैन, माओवादीको इतिहासमा पनि नीति कुल्चेर अघि बढेको घटना छैनन्।’
कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीका केन्द्रीय नेताहरूको संयुक्त उपस्थितिमा वडागत छलफल हुने भन्दै माओवादी केन्द्रीय सदस्य आचार्यले उक्त संयुक्त छलफलबाट असन्तुष्ट मनहरू पूरै माझिने बताए। ‘हाम्रो पार्टीका प्रवक्ता कृष्णबहादुर महरा, कांग्रेसका केन्द्रीय सदस्यहरू, अनि गठन्धनका अन्य दलका केन्द्रीय नेताहरूसँगको संयुक्त रूपमा वडा स्तरीय छलफल हुने छन्’, आचार्यले भने– ‘यो छलफलले सबै तिक्तता, असन्तुष्टि मेटिएर जाने छन्, यसो भएमा गठबन्धनबीचको बेमेललाई उछाल्न खोजिरहेको एमालेको सपना चकनाचुर हुनेछ, यसमा दुईमतै छैन।’ यसैगरी उनले घोराही नेतृत्वका सम्बन्धमा कांग्रेसमा देखिएको भनिएको असन्तुष्टि बाहिर आए जस्तो आफूले नपाएको बताए।
‘मेयर कांग्रेसको भागमा नपर्दा केही असन्तुष्टिहरू उत्पन्न हुनुलाई नकारात्मक मान्नु हुँदैन’, आचार्यले भने– ‘तर मलाई प्राप्त रिपोर्ट अनुसार बाहिर आए जस्तो कांग्रेसका साथीहरू नेगेटिभ हुनुहुन्न, एकाध असन्तुष्टिका आवाज पनि उचित रूपमा सम्बोधन हुनेछन्।’ गठबन्धन राष्ट्रिय हितका निम्ति जन्मिएको भन्दै उनले थपे– ‘यो राष्ट्रिय मुद्दामा कांग्रेस, माओवादी वा गठबन्धनका अन्य दलका सबै साथीहरू गम्भीर बन्नु हुन्छ, नत्र प्रगितमन भित्रन्छ र मुलुकले नोक्सानी बेहोर्नु पर्छ भन्ने त्रासदीबाट हामी कोही पनि अनभिज्ञ छैनौं।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो






















प्रतिक्रिया दिनुहोस्