नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्याख्यात्मक घोषणासहितको एमसिसी कार्यान्वयनमा तलमाथि भए पुनः आन्दोलन हुनसक्ने बताएका छन्। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले व्याख्यात्मक घोषणासहितको एमसिसी कार्यान्वयनका क्रममा तलमाथि गर्न नुहनेमा जोड दिए।
अध्यक्ष दाहालले तत्कालका लागि एमसिसीको विषय टुंगो लागिसकेको बताए। उनले भने, ‘तत्कालका लागि एमसिसीको विवाद टुंगो लागिसकेको छ,’ उनले भने, ‘तर, व्याख्यात्मक घोषणासहितको एमसिसी कार्यान्वयनमा तलमाथि गर्न खोजिए पुनः आन्दोलन पनि हुनसक्छ।’ विराटनगरमा आइतबारदेखि सुरु भएको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका दाहालले व्याख्यात्मक घोषणा सम्झौताकै अंगका रूपमा प्रतिनिधिसभाबाट पारित गरिएको स्पष्ट पारे।
अध्यक्ष दाहालले पार्टीभित्र एमसिसीको विषयमा पार्टीभित्र एक मत नरहे पनि निर्वाचनसम्म एउटै धारणा बनाएर अघि बढ्ने सहमति भइसकेको बताए। उनले अहिलेकै अवस्थामा एमालेसँग निर्वाचनमा तालमेल हुने कुनै सम्भावना नरहेको बताए। एमालेमा नकारात्मक सोच मात्रै भएकाले ओली पक्षसँग चुनावी तालमेल हुन नसक्ने उनको भनाइ छ। सकेसम्म गठबन्धका दलहरूबीच सहमति गरेर एउटै मोर्चामा चुनाव लड्ने नभए विचार मिल्नेहरूबीच चुनावी तालमेल गर्ने त्यासो पनि हुन नसके एक्लै चुनाव लड्ने आफूहरूको योजना रहेको दाहालले बताए।
उनले भने, ‘अरूको पछि लाग्ने भन्दा पनि हामी आफ्नै बलबुँतामा चुनाव लड्ने क्षमता बनाउँदै छौं।’ उनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने भएकाले आफूहरू सम्पूर्ण शक्तिकासाथ निर्वाचनमा लागिसकेको बताए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्