हेटौंडा । हेटौंडाको मुख्य व्यापारिक क्षेत्र २५ मिटर चौडाइमा विस्तार गर्ने सरकारी योजनाले शहरभरी असन्तोष र तनाव फैलिरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष  अरुणराज सुमार्गीले सरकारलाई योजनाबद्ध ढंगले अगाडि बढ्न सुझाव दिएका छन्। शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले १५ दिने सूचना आधार बनाएर बजार भत्काउने तयारी हुनु ‘निर्दय र अव्यवहारिक’ रहेको टिप्पणी गरे।

सुमार्गीका अनुसार बजारको घनत्व, व्यवसायको संरचना र बसोबासको अवस्थालाई ध्यान नदिई एकै पटक अल्टिमेटम जारी गरिएको खबरले ५ हजारभन्दा बढी व्यवसायी अनिश्चिततामा परेका छन्। उनले सूचनाको शैली नै गलत रहेकाले सामाजिक सञ्जालमा अतिरन्जित हल्ला फैलिएको, शहरभर डोजर चल्ने डरले व्यापारीदेखि सर्वसाधारणसम्म प्रभावित भएको बताए ।

उनले वर्तमान सरकारले आफ्नो भूमिकालाई स्पष्ट नबनाएको र स्थानीय तथा प्रदेश तहले विषयको संवेदनशीलता बुझ्न नसकेको आरोप पनि लगाए। “राजनीतिक परिवर्तनले प्रशासन बदलिन्छ, तर निर्णयले प्रभावित हुने नागरिकको भविष्य भने क्षतिग्रस्त हुन्छ,” सुमार्गीले भने, “यही कारणले सडक विस्तार जस्ता ठूला परियोजना दीर्घकालीन सहमति र विस्तृत योजनासहित अघि बढ्नुपर्छ ”

सुमार्गीले यो विषय नयाँ नभएको स्मरण गर्दै एक दशकअघि नै वैकल्पिक मार्गको सम्भाव्यता अध्ययन गरी डोजरमार्फत ट्र्याक खोलिएको तथ्य सार्वजनिक गरे। तर स्थानीय प्रतिनिधि र राजनीतिक दलबीच सहमति नबनेपछि त्यो विकल्प बेवास्ता गरिएको बताए। आज पनि त्यही असमन्वयकै कारण सामान्य जनजीवन प्रभावित भएको उनको भनाइ छ ।

सडक विस्तारलाई लिएर व्यवसायीहरू विकासको विरोधीजस्तो चित्रण भइरहेको विषयमा पनि उनले आपत्ति जनाए । उनका अनुसार व्यवसायीहरू हेटौंडाको आर्थिक मेरुदण्ड हुन्, र उनीहरू स्थायी समाधानमै बढी विश्वस्त छन्। “मुआब्जा, पुनःस्थापना र वैकल्पिक बजारको स्पष्ट व्यवस्था विनाबजार भत्काइनु विकास होइन, विनाश हो,” उनले भने।

सुमार्गीले सरकारले तत्काल संवाद प्रक्रिया सुरु गर्न, सूचनालाई व्यवहारिक बनातेर समय थप गर्न, र व्यवसायी तथा प्रभावित परिवारलाई स्पष्ट योजना प्रस्तुत गर्न माग गरे। उनले चेतावनी पनि दिए— योजना र व्यवस्थापनविहीन सडक विस्तारले हेटौंडाको समग्र आर्थिक क्रियाकलापमा दीर्घकालीन नकारात्मक असर पार्न सक्छ ।

रातो समाचार संवाददाता
थप जानकारी