हेटौंडा । हेटौंडा–७,नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती युथ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक नागस्वती युथ क्लबले नागस्वती भेट्रान्स क्लबलाई २–० गोलले हराउँदै उपाधि चुम्न सफल भएको हो । प्रतियोगिताको उपाधि जितेसँगै नागस्वती युथ क्लबको टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिम नागस्वती भेट्रान्सको टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । नागस्वती युथ क्लबको तर्फबाट पहिलो हाफमा राजेन्द्रै थापाले एक गोल गरेका थिए ।

दोस्रो हाफमा गोपाल स्याङ्तनले गोल गरे । खेलको म्यान अफ द म्याच मनिल थापा घोषित हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट स्पाइकर नागस्वतीका छिरिङ लामा, उत्कृष्ट मिडफिडर राजकुमार घिसिङ, म्यान अफ द सिरिज गोपी स्याङ्तान र हिरो अफ द टुर्नामेन्ट राजकुमार घिसिङ घोषित भएका छन् । हिरो अफ द टुर्नामेन्टले जनही १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन्् भने अन्य खेलाडीले जनही ५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । क्वार्टरफाइनल र सेमीफाइन चरणको खेलमा छिरिङ लामाले उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई फाइनलमा पुगाएका थिए । छिरिङ लामा हेटौंडा फुटबल एकेडेमीका खेलाडी हुन् ।

७ नम्बर वडा कार्यालयको प्रयोजनमा भएको प्रतियोगिता ३० वर्ष भन्दा अधिक उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउनेगरी अयोजना गरिएको थियो । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष राजकुमार बानियाँको सभाध्यक्षमा तथा वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा प्रतियोगिताको पुरस्कार वितरण समारोह भएको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी