कृतिका हुमागाँई
रातो सारी, हरियो चुरा
हातमा मेहन्दी सजाएर
तीज आयो खुसी बोकी
दिदी–बहिनी रमाएर।
दर खाई मिठो–मिठोगीत गाउँदै रमाउँछन्
दुःख–पीडा केही समय
भुलेर सबै हाँस्छन्।
शिवजीको पूजा गर्दै
पार्वतीलाई सम्झन्छन्
सुख, शान्ति र समृद्धिको
मनदेखि नै माग गर्छन्।
पार्वतीले शिव पाउन
गरेको कठोर तपस्या
त्यसैको सम्झनामा चल्यो
तीजको पवित्र परम्परा।
तीज केवल व्रत होइन
तीज केवल नाचगान होइन
नारीको भावना बुझाउने
संस्कृतिको सुन्दर चिनारी हो।
दिदी–बहिनी टाढा भए पनि
तीजमा घर सम्झन्छन्
माइतीको आँगनमा आएर
पुराना यादहरू सँगाल्छन्।
वर्षौँपछि भेट हुँदा पनि
मायाको बन्धन जोडिन्छ
दुःख–सुखका कुरा गर्दै
मनको भारी हलुका हुन्छ।
तीजले माया बाँड्न सिकाउँछ
एकताको पाठ पढाउँछ
टाढिएका आफन्तहरूलाई
फेरि नजिक ल्याउँछ।
आमाको माया, दिदीको स्नेह
बहिनीको मीठो बोली
तीजमा झन् गाढा बन्छ
सम्बन्धको त्यो डोरी।
रातो सारी लहराउँदै
हरियो चुरा झन्काउँदै
मादलको तालमा नाच्दै
तीज मनाउँछन् रमाउँदै।
तीजका गीतमा कहिलेकाहीँ
मनका पीडा पोखिन्छन्
अन्याय र दुःखका कुरा
गीत बनेर बोलिन्छन्।
नारीका भावना र अधिकार
गीतले आवाज दिन्छ
समाजमा भएका विकृतिलाई
सुधार्ने सन्देश दिन्छ।
हाम्रो भाषा, भेषभूषा
रीतिरिवाज र संस्कार
तीजले पुस्तौँदेखि जोगाउँदै
बनाएको छ हाम्रो आधार।
हजुरआमाले सुनाएको कथा
आमाले सिकाएको चाल
छोरीहरूले बोकेर हिँड्दा
जीवित रहन्छ संस्कृति विशाल।
समय फेरिए पनि तीज
आफ्नो रूप बदल्दै जान्छ
तर यसको मौलिक भावना
हृदयभित्र सधैँ रहन्छ।
अब तीजमा नारीहरू
शिक्षा र अधिकार माग्छन्
आत्मनिर्भर बन्ने सपना
मनभित्र सजाएर राख्छन्।
छोरीलाई पनि पढ्नुपर्छ
आफ्नो खुट्टामा उभिनुपर्छ
भेदभाव र हिंसाविरुद्ध
सबै मिलेर लड्नुपर्छ।
तीजले यही सन्देश दिन्छ
नारी कमजोर छैनन्
अवसर पाए संसारमा
कुनै कुरामा पछि पर्दैनन्।
माया, सद्भाव, प्रेम र खुसी
तीजको मुख्य पहिचान
परम्परालाई जोगाउँदै अघि बढ्नु
हाम्रो सबैको अभियान।
हर्ष र उल्लास बोकेर
हरेक वर्ष तीज आउँछ
नेपाली नारीको जीवनमा
नयाँ उमङ्ग छाउँछ।
संस्कृतिको सुन्दर फूल
परम्पराको मीठो गीत
नारी एकता र सम्मानको
पर्व हो हाम्रो पवित्र तीज।
त्यसैले तीज मनाऔँ हामी
मिलेर खुसी साटौँ
कुरीति र भेदभाव हटाई
समानताको बाटो रोजौँ।
मौलिकता र संस्कार जोगाई
नयाँ पुस्तालाई चिनाऔँ
नेपाली संस्कृति र पहिचान
विश्वभरि फैलाऔँ।
रातो सारी, हरियो चुरा
मनभरि माया र प्रीत
सधैँ रहोस् हाम्रो संस्कृतिमा
प्यारो नेपाली तीज।




















प्रतिक्रिया दिनुहोस्