आसन्न स्थानीय निर्वाचनमा पालिका तहका आकांक्षीहरू पुरानै अनुहार बढी देखिएका छन्। उम्मेदवार छनोट प्रक्रिया सुरु हुँदै गर्दा अहिले पनि पालिका प्रमुख उपप्रमुखहरूले नै पार्टी नेतृत्वसँग उम्मेदवारको लागि लविङ गरिरहेका छन्।
हाल पालिकाहरूमा प्रमुख, उपप्रमुख सम्हालिरहेकाहरुले मतदाता स्तरमा आफू पनि उम्मेदवार हो भनेर घोषणा नगरेपनि आफुभन्दा माथिल्लो तहसँग मरिमेटेर लविङ गरिरहेका छन्। जिल्लामा रहेको २ वटा नगरपालिका र ११ वटा गाउँपालिकाका प्रायः सबै प्रमुख र उपप्रमुखले नै मेयर/अध्यक्ष बन्न पार्टी नेतृत्वसँग अनुनय गरिरहेको नेताहरुले बताएका छन्।
जिल्लामा सक्रिय सबै पार्टीका नेतृत्वले भने पालिका स्तरका आकांक्षीका बारेमा मुख खोलेका छैनन्। वडा स्तरको आकांक्षीको टुंगो लगाएपछि मात्रै पालिकास्तरमा छलफल सुरु गर्ने नेताहरुको भनाई छ। नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी भन्छन्–‘नयाँ आकांक्षी पनि धेरै छन्, पुराना जनप्रतिनिधिहरूले त झन आकांक्षा नदेखाउने कुरै भएन, तर हामीले बोलिसकेका छैनौं।’
पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेसले थोरै सीट जितेकोले पनि थोरै संख्यामा जनप्रतिनिधि छन्। अहिले असंख्य ढंगबाट नयाँ–नयाँ नेता कार्यकर्ताहरु उम्मेदवार बन्न लागिपरेका छन्। ‘पार्टी तहमा छलफल गरेर पुराना जनप्रतिनिधिले पाँच वर्षसम्म गरेको काम र पार्टीमा दिएको योगदानको पनि सम्मान हुनेगरी नयाँ नेता कार्यकर्ताको पनि विचार र भावना बुझेर उम्मेदवार अघि बढाउँछौं’ अधिकारीले भने।
नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना यस पटक पनि नगर प्रमुखको प्रमुख दावेदारका रुपमा चिनिएका छन्। ढुंगानाले मतदाता स्तरमा पुगेर आफ्नो उम्मेदवारी घोषणा नगरेपनि पार्टी नेतृत्व र आफ्ना लाइनका नेताहरुसँग टिकट मिलाउने दोडधुपमा छन्। उनका शुभचिन्तकहरुले नीलकण्ठ नगरपालिकामा ढुंगाना नै एक्लो उम्मेदवार भन्दै प्रचार गरिरहेका छन्। आफु निकट नेता कार्यकर्ताले गरिरहेको प्रचारको बारेमा ढुंगानाले भने– ‘पहिलो पटक मेयर हुँदा जति काम गरेँ त्यो भन्दा धेरै काम गर्नै बाँकी छ त्यसैले पनि मेरो माग हुनु र मैले उम्मेदवार बन्छु भन्नु कुनै नौलो कुरा हुँदैन।’
नीलकण्ठका उपप्रमुख मनराज भण्डारीले पनि नगर प्रमुखमा आकांक्षा गरेका छन्। पहिलो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा माओवादीबाट उपप्रमुख पाएका भण्डारी अहिले गठबन्धन हुँदा होस् या नहुँदा नगर प्रमुखमा लड्ने तयारीमा लागेका छन्। ‘पाँच वर्षसम्म उपप्रमुख भएर काम गरियो, जनप्रतिनिधि भएर स्थानीय तहमा काम गरेको अनुभवले पनि यो पटक मेरो मेयरमा दावेदारी हो’ भण्डारीले भने।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष समेत रहेका भण्डारीले अन्य पालिकाहरुमा पनि पुरानै जनप्रतिनिधिहरुको आकांक्षा बढी रहेको बताए। ‘अहिले जनप्रनितिधि भएर काम गरिरहेका साथीहरुले पनि प्रमोसन भएर जानुपर्छ भनेर आफ्नो दावी प्रस्तुत गरिरहेका छन्, नयाँ नेता कार्यकर्ताको पनि आकांक्षा धेरै छ’, भण्डारीले भने–‘पहिलो स्थानीय निर्वाचनमा पालिकाहरुको उपप्रमुखमा विजयी भएका र वडा सदस्यमा विजयी भएका जनप्रतिनिधिहरुको अध्यक्ष हुने आकांक्षा धेरैको छ।’
नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीको तीन दलिय गठबन्धन भएपनि नीलकण्ठ नगरपालिका काँग्रेसको भागमा पर्ने पूर्व आँकलन छ। यो नगरपालिकामा नेकपा एमाले पहिलो निर्वाचनमा पनि एक्लै मैदानमा थियो। अहिले पनि एमालेका जिल्ला सचिव समेत रहेका अर्जुन कुमार श्रेष्ठ (गोर्खाली)ले नगर प्रमुखको आकांक्षा देखाएका छन्। अघिल्लो निर्वाचनमा उनी प्रमुखको उम्मेदवार थिए।
जिल्लाको अर्को नगरपालिका धुनिबेसीमा पनि हालका नगर प्रमुख बालकृष्ण आचार्यलाई नै प्रमुख दावेदारको रुपमा हेरिएको छ। उपप्रमुख निरु खरेल पनि प्रमुखका दाबेदार हुन्। २०७४ को निर्वाचनमा आचार्य र खरेल दुबै एमालेबाट निर्वाचित प्रमुख र उपप्रमुख हुन्। हाल दुबैजना नेकपा एकीकृत समाजवादीतिर छन्।
धुनिवेसीमा पहिलो निर्वाचनबाट आचार्य र खरेलसँग पराजित भएका कांग्रेस र माओवादीका तत्कालिन उम्मेदवारहरु अहिले पनि उम्मेदवारीको लागि गाउँवस्तीमा आफ्नो सांगठानिक गतिविधि तीव्र पारिरहेका छन्। गठबन्धन हुँदा पनि धुनिवेसी नगरपालिका समाजवादीकै भागमा पर्ने संभावना धेरै भएकोले आचार्यले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारिरहेका छन्।
‘अधिकांश गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु दुबैले पालिका अध्यक्षको आकांक्षा प्रस्तुत गरेका बुझिन्छ’ नेकपा एमाले धादिङका उपसचिव राधिका सापकोटा भन्छिन्, ‘अध्यक्ष उपाध्यक्ष दुबैले आ–आफ्नो पार्टीबाट सिफारिसका लागि नेतृत्वसँग तिब्र लबिङ गरिरहेकै छन् । एमालेमा पनि त्यस्तै छ, हामी पार्टीभित्र छलफल गरेर मात्रै टुंगो लगाउँछौं।’
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्