उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले बैंक मार्फत वडामै लगेर भत्ता बितरण गर्ने भएको छ। गाउँपालिकाको केन्द्र सम्म आउन तीन दिन सम्म लाग्ने भएकाले बैंकलाई वडामै बितरण गर्ने गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए।

‘हामीले सामाजिक सुरक्षा भत्ता बैंकमा निकासा गर्छौँ, बैंकको शाखा रहेको सिर्दिबास बाहेकका वडामा दिन तोकेर बैंकका कर्मचारी गएर वडामा बोलाएर बितरण गर्छन’ उनले भने। सबैले अनिवार्य बैंक खाता खोल्नुपर्ने र खातामा पैसा गाउँपालिकाले जम्मा गरिदिने जनाएको छ। सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य वैंकबाट वितरण गर्नुपर्ने प्रावधान बनाएर पालिकाहरुलाई निर्देशन गरेसँगै चुमनुब्रीले बैंक सहज नहुँदा चालु वर्ष भत्ता बितरण गर्न सकेको छैन।

‘केहीदिनमा वैंकमा भत्ता पठाउँछौँ’, प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने ‘दुर्गम ठाउँ भएकाले हाम्रोमा वैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण सहज थिएन।’ एउटा वडाबाट अर्कोमा पुग्न एकदिन पैदल हिँड्नुपर्ने चुमनुब्री गाउँपालिकाको केन्द्र आउन तीनदिनसम्म समय लाग्छ। आउँदा जाँदा झण्डै एक साता हिँडेर वैंकमा भत्ता लिन आउन सम्भव नहुने भएपछि गाउँपालिकाले कुमारी वैंकसंग सम्झौता गरेको हो।

यी सबैलाई एक चौमासिकमा एक करोड १ एक लाख १३ हजार नौ सय २९ रुपैयाँ भुक्तान गर्नुपर्ने पञ्जिकरण शाखाका वेदप्रसाद ढकालले बताए। चुमनुब्री गाउँपालिका भित्र ७० वर्ष माथिका जेष्ठ नागरिक पाँच सय ९१ जना, जेष्ठ नागरिक दलित दुई जना, जेष्ठ नागरिक एकल महिला एक सय ९३ जना छन्। बिधवा आर्थिक सहायता पाउने एक सय ८४ जना, पूर्ण अपाङ्ग‘क’ बर्गको कार्ड भएका पाँच, आंसिक अपाङ्ग‘ख’ बर्गको कार्ड भएका १३ जना, दलित बालवालिका दुई जना गरी नौ सय ९० जनाले सामाजिक सुरक्षा भत्ता पाउनेछन्।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ र कुमारी वैंक सिर्दिबासका प्रमुख कृष्ण पोखरेलले वैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। सरकारले पटक–पटक ताकेता गरेपछि गोरखाका सबै स्थानीय तहले बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण थालेका छन्। दुर्गममा सडक सञ्जाल नहुनु, भत्ता बुझ्नेहरुलाई बैंक सम्म आउजाउ गर्न कठिन हुनु जस्ता कारणले यस अघि जनप्रतिनिधिले हातहात भत्ता बितरण गर्थे। परदर्शीतामा प्रश्न उठेपछि पञ्जिकरण बिभागले बैंकबाट बितरण अनिवार्य गरेको हो।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो