हेटौंडा । हेटौंडामा भएको फुटबल रेफ्रि तालिम सम्पन्न भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको फुटबल रेफ्रि तालिम अन्तर्गत एन्फा रेफ्रि कोर्स सम्पन्न भएको हो । गत शुक्रबारबाट सुरु भएर आज बिहीबार सम्पन्न भएको फुटबल रेफ्रि तालिममा १३ जना प्रशिक्षार्थी उत्तीर्ण भएका छन् । तालिममा मकवानपुरबाट सहभागी भएका मध्ये असिम गोले र सुवास पाख्रिन तालिममा उत्तीर्ण भएका छन् । तालिमबाट दोलखा जिल्लाका अजयलाल कायस्त उत्कृष्ट प्रशिक्षार्थी घोषित भएका छन् । प्रदेश खेलकुदका सदस्य सचिव दीपक लामाको प्रमुख आतिथ्यमा तथा तालिम संयोजक अमृत लुङ्बाको सभाध्यक्षमा समापन कार्यक्रम भएको हो ।
सदस्य सचिव दीपक लामाले समाजको प्रत्येक ठाउँमा खेलकुद पुगेको बताएका छन् । समाजमा खेलकुद स्वास्थ्य पर्यटनसँग जोडिने धारणा राख्दै उनले खेलकुदको माध्यबाट जीविकोपार्जन गर्न सकिने बताए । कुन ठाउँमा कस्तो रङ्गशाला हुनुपर्ने भन्ने कुरा बुझनुपर्ने उनले बताए । खेलकुदको लागि बजेट भएकोले त्यसको नकारात्मक तरिकाले प्रयोग नहोस भनेर यस्ता कार्यक्रम गर्न जरुरी रहेको उनले बताए । उनले आगामी दिनमा ग्राषरुट स्तरका कार्यक्रमलाई प्रथमिकता दिइने प्रतिवद्दता व्यक्त गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सम्पन्न भएको तालिममा प्राविधिक पक्षबारे कल्पना शर्मा, सचिन समात्य र रोजन श्रेष्ठले प्रशिक्षण दिएका थिए भने शारीरिक पक्षबारे वीरेन्द्र बहादुर पाण्डेले प्रशिक्षण दिएका थिए । तालिमको पहिलो दिन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी थिइन् । समापन समारोहमा परिषद्का सदस्य संगीत श्रेष्ठ जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामा,सचिव सुनिल लोप्चन लगायतको उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्