कराँतेतर्फको प्रतियोगिता पदक दिलाउन सफल भएका ४ जना खेलाडीहरुको सामूहिक तस्वीर ।

हेटौंडा । १५ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत कराँतेतर्फ मकवानपुरको ४ जना खेलाडीले पदक जितेका छन् । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा जारी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शनिबार सुरु भएर आइतबार सम्पन्न भएको कराँते प्रतियोगितामा मकवानपुरबाट सहभागी भएका मध्ये ४ जना खेलाडीले पदक दिलाउन सफल भएका हुन् ।

पुरुषतर्फ ४२ केजी तौल समूहबाट करूण गमाल र महिलातर्फ ५० केजीतौल समूहबाट सुजता भ्लोनले समान १÷१ वटा स्वर्ण पदक दिलाएका छन् । यस्तै, महिलातर्फ झरना लोले ४५ केजी तौल समूहबाट  र ५५ केजी तौल समूहबाट श्रेया श्रेष्ठले समान १÷१ वटा काँस्यपदक दिलाएको नेपाल कराँते महासंघ मकवानपुरका सचिव दीर्घ लामाले जानकारी दिएका छन् ।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिलातर्फ सुजता भ्लोन घोषित हुँदै ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् । फागुन महिनामा मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहेको थियो । खेलाडीहरुको प्रतिनिधित्व गरेर टिम प्रशिक्षकको रुपमा भीम घलान र टिम म्यानेजरको रुपमा मान सिंह दोङ गएका थिए ।