बल नियन्त्रणमा लिने प्रयास गर्दै दुई जना खेलाडी ।

हेटौंडा । हेटौंडामा जारी पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शनिबार हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा पहिलो चरणको अन्तिम खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो । शनिबार भएको दुई खेलमा जीत निकाल्दै हेटौंडा–१ र हेटौंडा–१८ क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्तर्गत आज क्वार्टरफाइनलका २ खेलहरु सञ्चालन हुनेछ । पहिलो खेलमा हेटौंडा–३ र हेटौंडा–८ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–१० र हेटौंडा–१५ बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्षको प्रतियोगिताको उपाधि जितेको हेटौंडा–४ हेटौंडा–११ सँग उद्घाटन खेलमै पराजित भइसकेको छ ।