चितवन (रत्ननगर) । चितवन जिल्लामा दोस्रो संस्करणको माधवपूर गोल्डकप फुटबल सुरु भएको छ । शनिबारबाट चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–१५,स्थित माधवपूर खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्धाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गरेका हुन् । माधवपूर खेलकुद विकास समितिको आयोजना सुरु भएको प्रतियोगिताको उद्धाटन खेलमा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले रोमाञ्चक जीत निकाल्दै सेमीफाइनलको यात्रा पूरा गरेको छ । हेटौंडा फुटबल एकडेमीले कालिकामाइ नगरपालिकाको सूर्यपूर फुटबल क्लबलाई ४–३ गोलले टाइब्रेकरले पराजित गरेको छ । खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।निकै प्रतिस्पर्धात्मक प्रतियोगिता गोल गर्र्ने प्रयास गरेतापनि दुबै तर्फबाट बल गोलमा परिणत हुन सकेको थिएन् । खेल टाइब्रेकरमा ढकेलिँदा हेटौंडा फुटबल एकेडेमीका असरफ शेखले उत्कृष्ट प्रदर्शनी गरेका थिए ।
उनले विपक्षतर्फबाट २ जना खेलाडीले प्रहार गरेको बललाई बचाउँदै उत्कृष्ट प्रर्दशनीका साथ टिमलाई जीत दिलाएका थिए । हेटौंडा फुटबल एकेडेमीबाट सन्तोष तितुङ, सूर्य तामाङ, मनिष पौडेल र मिलन स्याङ्तान तामाङ प्रहार गरेको बल गोलमा परिणत हुँदा विपक्षी टिम सूर्यपूर फुटबल क्लबाट विजय श्रेष्ठ, समीर तामाङ, आशिष गुरुङले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । यस्तै, बसन्त कुमाल र गौरव श्रेष्ठले प्रहार गरेको बललाई गोलमा परिणत हुनबाट गोलरक्षक शेखले बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच शेखनै घोषित हुँदै २ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।

म्यान अफ द म्याच घोषित भएका हेटौंडा फुटबल एकेडेमीका गोलरक्षक शेख असरफलाई पुरस्कार प्रदान गरिँदै ।
उनलाई रत्ननगर नगरपालिका वडा नम्बर–१५ का वडाध्यक्ष आशिक श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगिता अन्तर्गत आउँदो बुधबार हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनल चरणको खेल खेल्नुपर्नेछ । हेटौंडा फुटबल एकेडेमीले अशिषेक चर्च र बागमती पुलिस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने टिम क्याप्टेन भीम लामाले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । भीमराज वाइबाको संयोजनमा सुरु भएको प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको टिम क्याप्टेन भीम लामाले बताए । खेलकुदका अध्यक्ष गणेश तामाङको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा नगरपालिकाका मेयर यादव प्रसाद पाठक, चितवन जिल्ला विकास समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी, उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्