हेटौंडा । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको स्थानीय शिक्षक समाज, सिन्धुलीले देउँसी–भैलो कार्यक्रममार्फत शैक्षिक विकास कोष स्थापना गर्ने अभियान सुरु गरेको छ। समाजले रु. १ करोड रुपैयाँको ‘हरिहरपुरगढी शैक्षिक विकास कोष’ स्थापना गरी गाउँपालिकाभित्रका विद्यालय र शैक्षिक पूर्वाधार विकासमा लगानी गर्ने लक्ष्य लिएको छ।

समाजका अध्यक्ष निर बहादुर मोक्तानका अनुसार देउँसी–भैलोमा संकलित रकम कोषमा जम्मा गरी दीर्घकालीन रूपमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिनेछ। सहयोग गर्न चाहनेहरूले समाजको सिद्धिजन बैंक खाता नं. ०५०३९०००२६५९१०१ मा रकम जम्मा गर्न सक्नेछन्।

यसै सन्दर्भमा समाजले देउँसी–भैलो कार्यक्रम तालिका पनि सार्वजनिक गरेको छ। कार्यक्रम मिति २०८२ कार्तिक ५ गते बुधबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न गाउँका घर आँगनमा सञ्चालन हुने छ ।

झ्याडी, बानाबिसे, भन्टाबारी, हरिहरपुर, हल्याङपाटी, चुटपानी, झनमुन, चम्पुने, रत्नपुर, तिनकुने र गुर्जीलगायत स्थानमा देउसी टोली पुग्ने तालिका तय गरिएको छ । अध्यक्ष मोक्तानले भने, “देउँसी–भैलो केवल संस्कृतिको संरक्षण होइन, शिक्षामा योगदान दिने माध्यम हो।” उनका अनुसार संकलित रकमको २५ प्रतिशत हरेक वर्ष समाजका शैक्षिक कार्यक्रममा प्रयोग गरिनेछ।

रातो समाचार संवाददाता
थप जानकारी