हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानी युथ क्लब चितवनको राप्ती नगरपालिकामा जारी दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबार राप्ती नगरपालिका वडा–१,स्थित सिमरा खेल मैदानमा भएको क्वार्टरफाइनलको अन्तिम खेलमा लामा स्पोर्टस् क्लबलाई १–० गोलले हराउँदै मनहरीको सिम्पानी युथ क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । सिम्पानीको जितमा विजय दोङले दोस्रो हाफको २१ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच गोलकर्ता दोङनै घोषित भएका छन् । भोलि शुक्रबार हुने सेमीफाइनल चरणको खेलमा सिम्पानी युथ क्लबले बागमती प्रदेश प्रहरीगण हेटौंडाको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यस अघि सोमबार भएको दोस्रो खेलमा जय मनकामना युथ क्लबलाई १–० गोलले हराउँदै सिम्पानी युथ क्लबले क्वार्टरफाइनलको यात्रा पूरा गरेको थियो भने मंगलबार भएको खेलमा वाइजेसी लोथरलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै लामा स्पोर्टस् क्लबले क्वार्टरफाइनलको यात्रा पूरा गरेको थियो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरमा पुगेको थियो । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको छ ।
बुधबार भएको पहिलो चरणको खेलमा एमजेसी फिल्म स्टुडियोलाई ४–२ गोलले हराउँदै सिम्पानी वाइसीले विजयी सुरुवात गरेको टिम क्लबका प्रशिक्षक प्रकाश लामाले जानकारी दिएका छन् । सिमरा युव समाज क्लबको आयोजनमा, राप्ती नगरपालिका १ नम्बर वडा कार्यालयको प्रयोजनमा तथा हासु कन्सट्रेन्सीको प्रयोजनमा भदौ ३१ गतेबाट प्रतियोगिता सुरु भएको बताइएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने असोज १२ गते हुनेछ ।

































प्रतिक्रिया दिनुहोस्