बल नियन्त्रणमा लिने प्रयास गर्दै दुई टिमका खेलाडी ।

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा तेस्रो संस्करणको सहिद रुद्र पाख्रिन,  वासुदेव घिमिरे स्मृति खुला फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारबाट मकवानपुरगढी गाउँपालिका–३ स्थित कुर्ले दमारको खेल मैदानमा सुरु भएको ८ ए साइट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडाको दाजुभाइ फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा दाजुभाइ फुटबल क्लबले बकैया गाउँपालिकाको बकैया समाजलाई ४–० गोल अन्तरले सहजै हराएको छ । दाजुभाईको तर्फबाट पहिलो हाफको ६ मिनेटमा गोल गर्दै छिरिङ लामााले सुरुवाती अग्रता दिलाएका थिए । दाजुभाइका समिराज थोकरले टिमका लागि ३ गोल गरेका थिए । समिराज थोकर पहिलो हाफको १४ मिनेटमा गोल गर्दै खेललाई २–० गोलको स्थितिमा पु¥याएका थिए । दोस्रो हाफको ४३ र ४६ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए । खेलको म्यान अफ द म्याच ह्याट्रिक गरेका थोकर घोषित भएका छन् ।

यस्तै, आइतबार भएकै दोस्रो खेलमा हेटौंडा–११,स्थित सिमलटार युथ क्लब जीत निकालेको छ । हेटौंडा–७,स्थित नागस्वती युथ क्लबलाई ४–० गोलले सिमलटार युथ क्लबले हराएको छ । सिमलटारको तर्फबाट सुजन गुरुङले पहिलो हाफको १८ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ललित चौलागाईंले १८ मिनेटमै गोल गर्दै अग्रतालाई कायम राखेका थिए । खेलको ३९ औं मिनेटमा ललित चौलागाईंले गोल गर्दै खेललाई ३–० गोलको स्थितिमा पु¥याएर नागस्वती एफसी विरुद्ध केही बाक्लो दवाबको सिर्जना गरे । गोलरहित अवस्थाको दवाबमा परेका नागस्वती विरुद्ध पवन राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुजन गुरुङ घोषित भएका छन् । यो जीतसँगै दाजुभाइ एफसी र सिमटार युथ क्लब क्वार्ठर फाइनलमा प्रवेश गरेका छन् ।

मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको खुला फुटबल प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सह–आयोजकको रुपमा मकवानपुरगढी खेलकुद विकास समिति र दाजुभाइ एफसी रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी