हेटौंडा । काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ । समूह चरणको ५ खेल खेलको मकवानपुरले अपराजित यात्रालाई पूरा गरेर तालिकाको शीर्ष स्थानमा रहँदै १० अङ्क जोडेर उपाधि जितेको हो । मकवानपुरले समूह चरणको पहिलो खेलमा काठमाडौंलाई पराजित गरेको थियो भने दोस्रो खेलमा भक्तपूरलाई पराजित गरेको थियो । यस्तै, तेस्रो खेलमा ललितपूरलाई पराजित गर्दा चौंथो खेलमा नुवाकोटलाई पराजित गरेको थियो ।

काठमाडौंको माथिल्लो मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मकवानपुरले चितवनलाई १ सय २९ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको मकवानपुरले ३५ ओभरमा ४ विकेट गुमाउँदै चितवनलाई २ सय ३७ रनको लक्ष्य दिएको थियो । मकवानपुरका रोहित ठाकुरले ५० बलमा ८७ रन र शिवशक्ति महतोले ५४ बलमा ५७ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । आशिक अधिकारीले ४१ ब्लमा २८ रनको योग्दान दिएका थिए । चितवनका दिवस सुवेदीले ३७ बलमा २ विकेट लिएका थिए ।
जवाफी व्याटिङ गरेको चितवनले १३ ओभर ४ बलमा १ सय ७ रन बनाउँदै अल आउट हुन पुगेको थियो । चितवनका सूर्यान्स कोइरालाले १८ बलमा ५२ रन, आभाष पौडेलले ११ बलमा २० रन र अभिषेक यादवले ६ बलमा १२ रन बनाएका थिए । मकवानपुरका रोहित ठाकुरले ३७ बलमा सर्वाधिक ५ विकेट लिएका थिए । जमाले रेनले ३ विकेट र शिवशक्ति महतोले १९ बलमा २ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच मकवानपुरका रोहित ठाकुर घोषित भएका छन् ।

















प्रतिक्रिया दिनुहोस्