कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोट गाउँमा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा स्ट्रेचरमा नै गर्भवती सुत्केरी हुनुभएको छ । माल्कोट गाउँमा रहेको बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती २० वर्षीया वसन्ता विक स्ट्रेचरमा नै सुत्केरी हुनुभएको हो । सोमबार बिहान ६ बजे बर्थिङ सेन्टरमा पु¥याए पनि गर्भवती विकको चार घण्टासम्म बर्थिङ सेन्टर बन्द हुँदा बाहिरै बस्नुपरेको र कुनै पनि कार्यालयका स्वास्थ्यकर्मी नभएका कारणले स्ट्रेचरमा नै सुत्केरी हुनुपरेको साथमै रहनुभएकी आफन्त मिमसरा विकले जानकारी दिनुभयो । “सुत्केरी व्यथा लागेपछि बिहान ६ बजे नै बर्थिङ सेन्टरमा पु¥याएका थियौँ”, उहाँले भन्नुभयो, “चार घण्टापछि स्ट्रेचरमा नै सुत्केरी हुनुभयो । त्यसपछि मात्र स्वास्थ्यकर्मी आउनुभयो ।” गाउँपालिकाले करार कर्मचारी हटाउँदा बर्थिङ सेन्टर बन्द भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले बताउनुभयो । “दुई जना कार्यरत स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ”, उहाँले भन्नुभयो, “त्यस कारणले सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।” तारन्तार फोन आउन थालेपछि आफूले यसभन्दा अगाडिका करार कर्मचारी (स्वास्थ्यकर्मी) शान्ति बुढालाई फोन गरेर पठाएकाले ढिलै भए पनि सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य शाखा प्रमुख बटालाको भनाइ छ । “अहिले आमा तथा शिशु(छोरी)को अवस्था सामान्य रहेको छ”, उहाँले भन्नुभयो, “ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।” करार कर्मचारी हटाइएको बाहनामा दोष लगाउन नमिल्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो । “स्वास्थ्यकर्मी प्रदेश सरकारले करारमा नियुक्त गरेको हो । करार स्वास्थ्यकर्मीको काम हैन”, उहाँले भन्नुभयो, “कर्मचारी हटाएको निहुँ खोजी स्थायी कर्मचारी स्वास्थ्य संस्थामा नआएर स्वास्थ्य संस्था बन्द गर्नुभएको छ ।” नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गमा आइपुग्न पैदल पाँच घण्टा लाग्ने गर्दछ । –––रासस




















प्रतिक्रिया दिनुहोस्