सहयोगको सामाग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै अध्यक्ष ध्रर्व अधिकारी ।

हेटौंडा । हेटौंडा–११,सिमलटारमास्थित शंकरज्योति माध्यमिक विद्यालयमा पानीको फिल्टर तथा डिस्पेन्सर सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको टोल विकास नगर समन्वय समितिले २५ औं स्थापना दिवस तथा रजत महोत्सव–२०८२ को अवसरमा पानीको बिजुली फिल्टर तथा डिस्पेन्सर शंकर ज्योति माविलाई सहयोग गरेको छ । टोल विकास नगर समन्वय समितिका अध्यक्ष धूर्व प्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई सहयोगको सामाग्री हस्तान्तरण गरेका हुन् ।

सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले संस्थाले समाज रुपान्तरणका विभिन्न पक्षहरूमा समर्पित भावनाले कार्य गर्दै आएको बताएका छन् । उनले शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुँच पुग्नु विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ दुबैका लागि महत्वपूर्ण हुने दावी गरेका थिए । संस्थाले गरिरहेको साना प्रयासहरू सामूहिक प्रभावका हिसाबले निकै अर्थपूर्ण रहने उनको भनाई छ ।

उक्त कार्यक्रममा सहभागी सबैले यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यहरूको निरन्तरता आवश्यक रहेको धारणा राखेका थिए । संस्थाले स्वास्थ्य, सरसफाइ, वातावरणीय संरक्षण, महिला सशक्तिकरण, साइबर सुरक्षाबारे जनचेतना र युवालाई लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेश रिजालले सामाग्री सहयोग गरेको प्रति खुशी व्यक्त गरेका छन् । प्रधानाध्यापक रिजालका अनुसार यस्ता प्रकारका सहयोगले विद्यार्थीलाई स्वस्थ राख्न, सिकाइमा प्रेरणा दिन र विद्यालयको वातावरण अझ सकारात्मक बनाउन सहयोग गर्छ । कार्यक्रमले विद्यालय र समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउने विश्वास समेत व्यक्त गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक रोशन पराजुली, टोल विकास संस्था नगर समन्वय समितिकी उपाध्यक्ष सति न्यौपाने, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतको उपस्थिति थियो ।

रातो समाचार संवाददाता
थप जानकारी