हेटौंडा । हेटौंडा–८,कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा जारी चौंथो संस्करणको कमाने क्रिकेट प्रतियोगिताको चौंथो खेलमा कमाने लायन्स जीत निकालेको छ । मंगलबार भएको खेलमा कमाने इप्लानेट ब्लास्टरलाई २ विकेटले हराउँदै कमाने लायन्सले जीत दर्ता गरेको हो । लिग चरणको ३ खेलहरुमा शान्दार जीत दर्ता गर्दै कमाने लायन्सले अपराजित यात्रालाई कायमै राखेको छ । लिग चरणको ३ खेल खेलेर ३ खेलमै जीत दर्ता गरेको कमाने लायन्स ६ अकंसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । लिगको पहिलो खेलमा कमाने लायन्सले कमाने रोयल्सलाई ८ विकेटले, दोस्रो खेलमा कमाने थर्ड आइ जापान समुरायलाई ८ विकेटले र तेस्रो खेलमा कमाने इप्लानेट ब्लास्टरलाई २ विकेटले हराएको छ । लिगको ३ खेल खेलेको कमाने इप्लानेट ब्लास्टर २ जीत निकालेको छ ।
पहिलो व्याटिङ गरेको कमाने इप्लानेटर ब्लास्टरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर कमाने लायन्सलाई १ सय ५५ रनको लक्ष्य दिएको थियो । कमाने इप्लानेट ब्लास्टरका लागि विजय घलानले ४६ बलमा ७२ रन बनाउँदै आफ्नो नाममा अर्धशतक राख्न सफल भएका थिए । रिशभ चौधरीले २८ बलमा रन र सरोज यादवले ८ बलमा १६ रनमै सीमित बन्न पुगेका थिए । बलिङतर्फबाट कमाने लायन्सबाट समीर चौलागाईँले २ विकेट, सुभ कंसकारले र रमेश लुईंटेलले समान १÷१ विकेट मात्र लिन सकेका थिए ।
१ सय ५६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको कमाने लायन्सले १९ ओभर ३ बलमा ८ विकेट गुमाउँदै कमाने इप्लानेट ब्लास्टरले दिएको रनको लक्ष्य भेट्टाएको थियो । कमाने लायन्सका लागि विवेक सहनीले २५ बलमा ४७ रन, रमेश लुईंटेलले २३ बलमा ४२ रन र अरुण दहालले ११ बलमा २२ रन बनाएका थिए । कमाने इप्लानेट ब्लास्टरबाट विजय घलान, रिसभ चौधरी र सुजन चौलागाईंले समान २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच विवेक सहनी घोषित भएका छन् । उनले १ हजार रुपैयाँको नगद पुरस्कार तथा मेडल प्राप्त गरेका छन् । भोलि बुधबार हुने पहिलो खेलमा कमाने राइडर्स र कमाने लायन्स तथा दोस्रो खेलमा कमाने रोयल्स र कामाने थर्ड आइ जापानबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट सोसिएल एण्ड साइनसको मुख्य प्रयोजनमा सुरु भएको प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिता उत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले घोषणा गरेका छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

















प्रतिक्रिया दिनुहोस्