कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा सभापति शेरबहादुर देउवाले शुक्रबार र सोमबार गरी दुई पटक बोले । दुवै पटक उनी चुनावी गठबन्धनविरुद्ध बोल्ने नेतामाथि खनिए ।
सोमबारको बैठकमा नेता शेखर कोइरालाले गठबन्धन गरेर पार्टी सिद्धान्तलाई तिलाञ्जली दिन खोजिएको आरोप लगाएपछि देउवाले प्रतिवाद गर्दै भने, ‘मैले यही पार्टीका लागि टाउको फुटाएको छु, जिब्रो काटिएको छ, अनि मैलै पार्टीलाई तिलाञ्जली दिन्छु रु’ शुक्रबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरको गत निर्वाचनको प्रसंग झिक्दै गठबन्धनविरुद्ध बोलेपछि देउवा यसैगरी कड्किएका थिए । ‘गठबन्धन हुँदैन भने कसरी जित्न सकिन्छ रु ठूलो कुरा गरेर मात्र हुन्छ रु’ उनले भनेका थिए, ‘चुनाव हारेको हार्यै छ, फेरि गठबन्धन पनि नगरौं भन्नुहुन्छ ।’
केन्द्रीय कार्यसमितिमा दुईतिहाइ बहुमतमा रहेका देउवाले गठबन्धन गर्ने पक्षमा प्रस्ट धारणा राखेपछि बैठकमा बोल्ने अधिकांश नेताले उनको लय समातेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पार्टीको आन्तरिक चुनावमा फरक खेमाबाट प्रतिस्पर्धा गरेका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र महामन्त्री विश्वप्रकाश शर्माले समेत चुनावी तालमेलको पक्षमा बोलेका छन् । सोमबारको बैठकमा महामन्त्री गगन थापा र नेताद्वय शेखर कोइराला तथा शशांक कोइरालाले भने चुनावी समीकरणको विपक्षमा आफ्नो मत जाहेर गरेका छन् ।
महामन्त्री थापाले बैठकमा गठबन्धन गर्दा आउने ५ चुनौती प्रस्तुत गरेका थिए । उनका अनुसार करिब साढे ८ लाख क्रियाशील सदस्य भएको कांग्रेसका झन्डै २३ लाख मतदाता छन् । ती मतदातालाई अर्को दलको चुनाव चिह्नमा मतदान गराउन निकै कठिन छ । ‘हाम्रो मतदाता कम्युनिस्ट पार्टीको जस्तो संगठित नभई खुला र स्वतन्त्र हुन्छन्, उनीहरूले हाम्रो निर्देशन मानेनन् भने के गर्ने रु’ उनले बैठकमा भने, ‘दोस्रो– धेरै दलसँग गठबन्धन गरिने भएकाले करिब आधा सिट छाड्नुपर्छ, जुन व्यावहारिक हिसाबले असाध्यै गाह्रो हुन्छ ।’ गठबन्धन दललाई छाडेका ठाउँमा संगठनका लागि दीर्घकालीन रूपमा ठूलो क्षति हुने जोखिम पनि रहेको उनको भनाइ थियो ।
महामन्त्री थापाले आगामी निर्वाचनमा सहभागी हुने करिब ३८ लाख नयाँ मतदातालाई कांग्रेससँग जोड्न पनि गठबन्धन गर्न नहुने राय राखेका छन् । ‘पुरानो मतदातालाई त पहिले रूखमा भोट हालिसकेको हुनाले एकपटक अर्को दललाई भोट हाल भन्न सकिएला, नयाँ मतदातालाई पहिलो पटकमै अर्को दललाई भोट हाल भन्दा भोलि कसरी पार्टीसँग जोड्न सकिन्छ रु’ उनले बैठकमा भने, ‘अर्को, अहिले गठबन्धन गर्दैमा भविष्यमा वामपन्थी दलहरूबीच गठबन्धन हुँदैन भन्ने ग्यारेन्टी छैन । त्यसैले कांग्रेस एक्लै चुनावमा जानुपर्छ ।’ गत स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रले संसदीय निर्वाचनमा एमालेसँग गठबन्धन गरेकाले विश्वास गर्न नसकिने उनले बताए ।
पूर्वमहामन्त्री शशांक कोइरालाले संसदीय निर्वाचनमा गठबन्धन गर्ने बाटो खुला छाडेर स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखे । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने थापा र कोइरालाद्वयको धारणा अल्पमतमा छ । एक पदाधिकारीका अनुसार देउवाले गठबन्धनको मध्यमार्ग खोज्न थालेका छन् । देउवाले मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि चुनावी गठबन्धनबारे निर्णय लिन पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै छन् । ‘सभापतिले फरक विचारलाई मनाएर अघि बढ्ने प्रयास गरिरहनुभएको छ,’ ती पदाधिकारीले भने, ‘सम्भवतः केन्द्रबाट सैद्धान्तिक निर्णय गरेर स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने मध्यमार्गी ढाँचामा जान्छ होला ।’
महामन्त्री शर्माले पनि स्थानीय तह निर्वाचनमा केन्द्रबाट गठबन्धन नभई स्थानीयस्तरमा तालमेल मात्र हुनुपर्ने बताएका छन् । ‘गठबन्धन निश्चित सिद्धान्तका आधारमा साझा घोषणापत्र र प्रतिबद्धता पत्र बनाएर निर्माण हुन्छ, कांग्रेस त्यसमा जानु हुँदैन,’ उनले बैठकमा भने, ‘तर स्थानीय आवश्यकता र स्थिति हेरेर चुनावी तालमेलको ढोका खुला राख्नुपर्छ ।’
वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता भने केन्द्रीयस्तरबाटै गठबन्धन गरेर जानुपर्नेमा छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि बेलैमा केन्द्रबाट गठबन्धनसम्बन्धी ठोस निर्णय हुनुपर्नेमा जोड दिइरहेका छन् । गत स्थानीय निर्वाचनमा मनोनयन दर्ता भइसकेपछि तालमेलको प्रयास हुँदा कार्यान्वयनमा जटिलता आएको थियो । पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकमा बोल्ने अधिकांश नेताले केही न केही समझदारी र गठबन्धनको आवश्यकताबारे धारणा राखेकाले आवश्यकताअनुसार तालमेलको निर्णय हुने बताए । ‘पार्टी नेतृत्वले माथिबाट लाद्दैन, बरु माथिबाट सैद्धान्तिक खाका बन्छ,’ उनले भने, ‘जतिसक्दो बढी सफलता पाउन सबैखाले मतलाई सम्मान गर्दै रणनीतिक रूपमा उचित निर्णय गरिन्छ ।’
कांग्रेसले फागुन २९ देखि सञ्चालन गरेको ‘घर–घर जाऔं, कांग्रेसलाई जिताऔं’ अभियानबाट फर्केका नेताले स्थानीय आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्नुपर्ने रिपोर्टिङ गरेका छन् । बैठकको पहिलो दिन बोल्ने प्रदेश सभापतिहरूले पनि गठबन्धनको अधिकार प्रदेश र जिल्लालाई दिनुपर्ने बताएका थिए ।
यो समाचार कान्तिपुर बाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्