सम्पादकसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड ।

हेटौंडा । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग र देशभरका प्रमुख सञ्चार माध्यमका सम्पादकबीच संवाद कार्यक्रमको आयोजना गरेकको छ । नेपालको राजधानी काठमाडौं महानगरपालिकामा माओवादी निकट प्रेस संगठन प्रेस सेन्टर नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सञ्चार माध्यमका सम्पादकबीच संवाद कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार प्रेस सेन्टरले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हालको राजनीतिक अवस्था, जेनजी आन्दोलनपश्चात उत्पन्न परिस्थिति र लोकतन्त्रको भविष्यबारे विस्तृत धारण राखेका छन् ।

नेपाल अहिले संवेदनशील राजनीतिक मोडमा रहेको बताउँदै हालको जेनजी आन्दोलनले युवापुस्ताको असन्तोष स्पष्ट रूपमा उजागर गरेको उनले संवाद कार्यक्रममा जानकारी गराएका छन् । उनका अनुसार ‘यो आन्दोलनलाई खतरा होइन, अवसरका रूपमा लिन सक्नुपर्छ,’ उनले भने, ‘यदि हामीले युवाको आवाजलाई सुन्न सक्यौं भने हाम्रो राजनीतिक प्रणाली अझ सशक्त र उत्तरदायी बन्न सक्छ ।’

अध्यक्ष प्रचण्डले जेनजी आन्दोलन : लोकतन्त्रप्रतिको चेतावनी र सुधारको सन्देश दिएका छन् । जेनजी आन्दोलनलाई लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै त्यसले राज्य संयन्त्र र राजनीतिक दल दुबैका लागि आत्ममूल्याङ्कनको अवसर दिएको धारणा राखेका छन् । ‘राज्य जनताको विश्वासमा टेकेको हुन्छ,’ उनले भने, ‘त्यो विश्वास कमजोर हुन थाले लोकतन्त्र कमजोर हुन्छ । त्यसैले असन्तुष्टिलाई दमन होइन, संवाद र सहमतिले सम्बोधन गर्नुपर्छ ।’उनले आन्दोलनका क्रममा भएका केही घटनालाई दुःखद र अस्वीकार्य बताउँदै, शान्तिपूर्ण विरोध जनाउने नागरिकमाथि बल प्रयोग गर्नु गलत भएको प्रष्ट पारेका छन् ।

सम्पादकसँगको संवाद कार्यक्रममा सहभागीहरु ।

नेपालको संविधानलाई राष्ट्रिय गौरवको दस्तावेजका रूपमा व्याख्या गर्दै त्यसलाई संशोधनमार्फत अझ समावेशी र सशक्त बनाउने आवश्यकता औंल्याएका छन् । ‘संविधानलाई स्थिरता र समृद्धिको जग बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कमजोरीलाई राजनीतिक सहमतिबाट सुधार्नुपर्छ, अस्थिरता ल्याउने बाटो होइन।’ उनका अनुसार, राजनीतिक स्थिरता र विकासका लागि दलबीच सहकार्य अपरिहार्य छ । ‘हामी सबैले देशलाई असफल देखाउन खोज्नेहरूलाई असफल पार्नुपर्छ,’ उनले जोड दिएका थिए ।

निर्वाचन : जनताको विश्वास पुनःस्थापना गर्ने अवसर

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै अध्यक्ष प्रचण्डले भने‘यो निर्वाचन जनताको विश्वास पुनःस्थापना गर्ने मौका हो । निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव सम्पन्न गर्न सबै पक्ष एकजुट हुनुपर्छ ।’

उनले माओवादी केन्द्रले सामाजिक न्याय, समावेशीता र युवाको भविष्य सुनिश्चित गर्ने दिशामा निरन्तर काम गरिरहेको बताए । उनले मिडियाको भूमिकालाई एकताको सन्देश दिनुपर्ने बताए । प्रचण्डले सम्पादकहरूलाई सम्बोधन गर्दै सञ्चार माध्यमले राष्ट्रनिर्माणमा सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । ‘मिडियाले विभाजन होइन, एकताको सन्देश प्रवाह गर्नुपर्छ,’ ‘सत्य, तथ्य र जिम्मेवार पत्रकारिताले मात्रै लोकतन्त्रलाई सबल बनाउँछ।’ उनले भने युवापुस्ताप्रतिको भरोसामा अध्यक्ष प्रचण्डले नयाँ पुस्ताको क्षमतामा भरोसा राख्दै राज्यले स्पष्ट युवा नीति ल्याउनुपर्ने बताए । ‘युवालाई सुन्नु भनेको भविष्यलाई सुन्नु हो,’ उनले भने , ‘यदि हामीले युवाको सपना सुन्न सकेनौं भने हामी भविष्यप्रति उत्तरदायी रहँदैनौं ।’

रातो समाचार संवाददाता
थप जानकारी