हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आधारभूत तहका शिक्षकहरूको क्षमता वृद्धि र ज्ञान परीक्षण गर्ने उद्देश्यले आगामी मंसिर २६ गते शिक्षक हाजिरी–जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई सहभागिताको तयारी गर्न अनुरोध गरेको छ ।
प्रतियोगिता गाउँ कार्यपालिकाको कार्यालयस्थित सभाहल, चैनपुरमा बिहान १० बजेबाट सुरु हुनेछ। कक्षा १ देखि ८ मा अध्यापन गर्ने शिक्षकहरू मात्र सहभागी हुन पाउने व्यवस्था शिक्षा महाशाखाले जनाएको छ । विद्यालयहरूले ३ जनाको एक समूह बनाएर सहभागी गराउनु पर्नेछ । जसमा एक महिला शिक्षक अनिवार्य रूपमा समावेश हुनुपर्ने सूचना शाखाले स्पष्ट गरेको छ । माध्यमिक विद्यालयका हकमा अधिकतम २ समूहसम्म प्रतियोगितामा सहभागी गराउन पाइनेछ।
प्रतियोगितामा सहभागी हुने समूहको नामावली मंसिर २५ गते भित्र कार्यालय समयमै शिक्षा शाखामा पठाइसक्नुपर्नेछ। आधारभूत र माध्यमिक विद्यालयहरूले आफ्नै शिक्षक समावेश गर्नुपर्ने भए पनि कक्षा १–३ वा १–५ सञ्चालन हुने विद्यालयहरूले अन्य विद्यालयसँग सहकार्य गरेर समूह बनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुने शिक्षकले जनही रु. १० हजार, द्वितीयले रु. ५ हजार र तृतीय स्थान हासिल गर्नेले जनही रु ३ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । गाउँपालिकाले सहभागी शिक्षकहरूका लागि खाना, खाजा तथा यातायातको व्यवस्था पनि गर्ने जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्