अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन ११६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्याङक अनुसार अघिल्लो वर्ष र यस वर्षको फेव्रुअरी महिनामा नेपाल आउने पर्यटकको संख्यामा ११६ प्रतिशतले वृद्धि भएको हो ।

सन् २०२२ फेव्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भित्रिए भने सन् २०२१ को फेव्रुअरीमा नौ हजार १४६ जना मात्र पर्यटक भित्रिएका थिए । यो संख्या ११६ प्रतिशतले वृद्धि हो । कोरोना महामारीले विश्व नै ठप्प भएपछि नेपालमा पनि पर्यटकको आगमन शून्य जस्तै भएको थियो । अझै पनि सरकारले तय गरेका विभिन्न नियमहरुका कारण पर्यटन क्षेत्र पुरानै गतिमा फर्कन नसकेको नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो ।

सन् १९१९ मा एक लाख दुई हजार ४२३ जना नेपाल भित्रिए पनि नेपाल भ्रमण वर्ष २०२० मा भने ९८ हजार १९० जना मात्र भित्रिएका थिए भने सन् २०२१ मा १ लाख ५० हजार ९६२ पर्यटक भित्रिएका थिए ।

नेपाल भित्रिने मध्ये अमेरिकी पर्यटक बढी
भ्रमण, पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउनेमा अमेरिकी पर्यटकको संख्या दोस्रो स्थानमा छ । सीमावर्ती छिमेकी मुलुक भारतपछि अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।
सन् २०२२ फेब्रअरीको तथ्याङक हेर्दा भारतबाट ३०.३५ प्रतिशत अर्थात पाँच हजार ९९८ जना र दोस्रोमा अमेरिकाबाट १६.१६ प्रतिशत अर्थात तीन हजार ९५ जना नेपाल भित्रिएका थिए ।
सार्क मुलुकबाट सात हजार २६२ जना पर्यटक नेपाल प्रवेश गरेका थिए । यो कुल संख्याको ३६.७४ प्रतिशत हुन आउँछ । तर अन्य वर्षहरुको तुलनामा सार्क मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा कमी आएको नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले बताउनुभयो । तथ्यांकअनुसार सबैभन्दा कम भूटान, श्रीलंका र पाकिस्तानी पर्यटक छन् ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो