एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’का लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतमार मनोनयनमा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा पर्ने खेलाडीहरुमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहनुभएको छ ।खेलाडीहरुलाई २०७७ सालको खेल प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधामा छनोट गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा मञ्चले जनाएको छ ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट ई–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र नेपाल ओलम्पिक कमीटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिने बताईएको छ ।

भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने छ । भोटिङलाइन आइतबारबाटै सुरु भई चैत ७ गते १२ः०० बजेसम्म खुला रहने छ । ई–सेवा भोटिङको मतभार ५० प्रतिशत रहनेछ ।

यसैगरी फेसबुक लाइकको २५ प्रतिशत तथा खेलकुद पत्रकार र मुख्य प्रशिक्षकको भोटको मतभार समान १२.५ प्रतिशत रहने बताइएको छ । भोटिङका लागि ई–सेवा र मञ्चबीच संम्झौता समेत भएको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र ई–सेवाका चिफ म्यानेजर आशिष गौतमले हस्ताक्षर गर्नुभएको छ ।

यसपटकको अवार्डमा पालीको अवार्ड दशक अवार्ड हुनेछ । पछिल्लो एक दशकका उत्कृष्ट खेलाडीहरुलाई दशक अवार्डबाट सम्मानित गरिनेछ । जसमा सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड रहनेछ ।

अवार्ड कार्यक्रमा ८ चैतमा प्रज्ञा भवन कमलादीमा हुनेछ । पिपल्स च्वाइसबाहेक अन्य सबै विधाको अवार्ड यसपटक अवार्डकै दिन सार्वजनिक गरिनेछ । पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिने बताईएको छ ।

दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल तथा प्रदान अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने पवनि आयोजकले जनाएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो