पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपको शीर्षस्थानमा यथावत छ। समान दोस्रो जित निकालेको राईजिङ क्रिकेट क्लब पनि ४ अंकसहित नेट रनरेटमा दोस्रो स्थानमा रहेको छ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालित च्याम्पियनसिपमा राईजिङ क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ९ रनले पराजित गर्दा पोखरा क्रिकेट क्लबले अरण्यज्योतिमाथि ८ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा टस जितेर व्याटिङमा उत्रिएको राईजिङले कप्तान अमृत गुरुङले ५२ रनको अर्धशतकीय कप्तानी पारी खेलेपछि ८ विकेटको क्षतिमा ११६ रनको योगफल तयार पार्यो। पाँचौ नम्बरमा आएको कप्तान गुरुङले चौथो विकेटको लागि नविन पोखरेलसँग महत्वपूर्ण साझेदारी निभाए। अघिल्लो तीन विकेट सस्तैमा आउट भएपछि धर्मराएको राईजिङलाई थमाउने जिम्मेवारी कप्तानले लिए। कप्तानले नविन पोखरेलसँग ६० रनको साझेदारी निभाएपछि प्रतिस्पर्धात्मक लक्ष्य बनाएको थियो।

कप्तान गुरुङले ५२ रन हिर्काउन ३१ बलको सामना गरे। उनले ४ चौका र २ छक्का हिर्काए। क्रिजमा टिकेर रन बटुल्ने क्रममा रनआउटको शिकार भएपछि राईजिङले योगफललाई अझ माथि उकास्न सकेन्। नविन पोखरेल र सागर लामिछानेले पनि १३÷१३ रनको योगदान रह्यो। अन्य व्याटरको योगदान खासै प्रभावकारी रहेन्। बलिङ तर्फ सांग्रिलाका कप्तान विपिन खत्रीले ४ ओभरमा ११ रन दिएर २ विकेट लिए।

११७ रनको लक्ष्य पछ्याएको सांग्रिला २० ओभरमा ९ विकेट गुमाउँदै १०७ रनमा समेटियो। मध्यक्रम व्याटर सुदिप पौडेलले २ चौका र १ छक्का हिर्काउँदै ३१ रन जोडे। विपिन खत्रीले १८ रन बनाए । तिब्र गतिका बलर कृष्ण पौडेलले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर ३ विकेट लिएपछि सांग्रिला धरासायी बन्यो। अमृत गुरुङको नाममा एक विकेट लिए। उनी प्लयेर अफ दि म्याच घोषित भए।

यसैगरी दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ। अरण्यज्योति क्रिकेट क्लबले पहिले व्याटिङ गर्दैै १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनाएको थियो। कप्तान विधान श्रेष्ठले ३७ बलमा १ चौका र १ छक्काको मद्दतमा ३१ रन जोडे। प्रवीन पौडेलले पनि २७ रन बनाउने क्रममा ४५ बल खेले। उनको ३ चौका स्कोरकार्ड लेखियो । पोखरा क्रिकेट क्लबका अनिष खड्काले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिदैं अरण्यज्योतिलाई धरासायी बनाए। अनिल गुरुङले ३.४ ओभरमा १ मेडन राख्दै ५ रन दिए २ विकेट लिए।

८२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले अनिल गुरुङले ५१ रन बनाउँदै अविजित खेलेपछि अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको हो। प्लेयर अफ दि म्याच अनिलले २७ बलमा ६ चौका र २ छक्का हिर्काए। प्रमोद बास्तोलाले १ चौका सहित १४ रन हिर्काए। २३ बलमा मुस्कान थापा ११ रन जोडे। विधान श्रेष्ठ र दिवस गिरीले समान १/१ विकेट लिए।