धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पीत्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन्।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका हुन्। उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिको सदस्य समेत थिए।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन्। एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि माओवादी छाडेर एमालेमा फर्किएका हुन्। डल्लाकोटीलाई एमालेमा स्वागत गर्न एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, एमाले नेता पुष्प कडेंल लगायत पनि बालकोट पुगेका थिए।

केही समय अघिदेखि नै एमाले प्रवेश गरेर पालिका अध्यक्षको टिकट लिने कुरा चल्दै आएको थियो।

पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर डल्लाकोटी अध्यक्षमा विजयी भएका थिए। एमालेले पनि आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवार बनाउने गरि नै प्रवेश गराएको बुझिन्छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो