
मकवानपुरगढी । पहिलो संस्करणको एसईई व्याच स्टुडेन्ट बोन्डिङ फुटसल टुर्नामेन्टको उपाधि हेटौंडा–४,स्थित रियल युनिक बी ले जितेको छ । यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई दिएर बसेका विद्यार्थी सहभागी हुन पाउनेगरी मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको फुटसल मैदानमा आयोजना गरेको एसईई व्याच स्टुडेन्ट बोन्डिङ फुटसल टुर्नामेन्टको उपाधि रियल युनिक बी ले जितेको हो । हेटौंडा–५,स्थित हेटौंडा सिटी कलेजको आयोजनामा शुक्रबार भएको फुटसल प्रतियोगिताको फाइनल खेलमा हेटौंडा–७,स्थित तासिर इंग्लिस सेकेण्डरी बोर्डिङ्ग स्कूललाई ४–० गोल अन्तरले रियल युनिक बीले पराजित गरेको प्रतियोगिताका निर्णायक भीम लामाले जानकारी दिएका छन् ।
प्रतियोगिताको उपविजेता तासिरको टिमलाई मेडल हस्तान्तरण गरिँदै ।
शुक्रबारै भएको सेमीफाइनलको खेलमा हेटौंडा–४,स्थित नवोदय शिशु सदनलाई ५–१ गोलले हराउँदै तासिर इंग्लिस बोर्डिङ्ग फाइनलमा प्रवेश गरेको हो भने हेटौंडा–८,स्थित माउण्ट एभरेष्ट बोर्डिङ्गलाई टाइब्रेकरमा १–० गोलले हराउँदै रियल युनिक फाइनलमा प्रवेश गरेको थियो । दोस्रो खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको टिमका निर्णायक भीम लामाले बताए ।
प्रतियोगिताको उपाधि विजेता रियल युनिक बीले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता तासिर बोर्डिङ्गले १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सेमीफाइनलमा पराजित भएका दुईटिमले ५÷५ हजार रुपैयाँको नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।यस्तै, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट रियल युनिक बी का अमीर थिङ, उत्कृष्ट गोलरक्षक रियल युनिककै सुदेव गुरुङ्ग र हाइ स्कोरर तासिर बोर्डिङका जीवन थिङ घोषित भएका छन् । उनीहरलाई जनही २÷२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ ।
विधागततर्फ उत्कृष्ट बन्न सफल भएका ३ खेलाडीलाई पुरस्कार प्रदान गरिँदै ।
हेटौंडा सिटी कलेजकी संस्थापक प्रिया पाण्डेको सभाध्यक्षमा तथा हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । समापन कार्यक्रममा बोल्दै कलेजका प्रिन्सीपल श्री बहादुर काकीले विद्यार्थीबीच भातृत्व सम्बन्ध कायम गराउन, खेलको महत्वको बारेमा बुझाउन र एक अर्काबीचको पहिचानलाई बढाउन प्रतियोगिताको आयोजना गरेको बताएका छन् । अब कक्षा–१२ का विद्यार्थी सहभागी हुन पाउनेगरी यस्तै खाल्को प्रतियोगिताको आयोजना गर्ने उनले बताए । सिटी कलेजले आइटीको क्षेत्रलाई प्राथमिकता दिँदै आइरहेको उनले बताए । प्रतियोगितामा सञ्जिव अर्याल र किशन दासले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
टिम निर्णायक सञ्जिव अर्याल दायाँतर्फ पुरस्कार ग्रहण गर्दै अर्का निर्णायक भीम लामा दायाँतर्फबाट पुरस्कार ग्रहण गर्दै ।
प्रतिक्रिया दिनुहोस्