अब घटना सुरु हुन्छ ।

पुस १६ गते । उसकी आमा अस्पतालमा छिन् ।

ऊ घरको छतमा छ । भुइँमा गलैंचा ओछ्याउँछ । गलैँचामा सुत्छ । देब्रे कोल्टे सुत्छ । सिरानी नभएको हुनाले उसलाई सुत्न अप्ठ्यारो हुन्छ । हातको सिरानी लाउँछ । हात कुइनोमा बाङ्गिएको छ । देब्रे खुट्टाको घुँडा धेरै खुम्चिएको छ । दाइने खुट्टाको घुँडा अलिकति खुम्चिएको छ ।

– उसको पछाडिबाट– ५ किलोको–एउटा नीलो आँखा भएको–निख्खर कालो रौँ भएको–आत्तिएको बिरालो–फुत्तै जान्छ । बिरालोको अर्को आँखा छैन । सुतेको उसले बिरालो चाल पाउँदैन ।

उसको दाइने घुँडामा चिलाउँछ । कन्याउँछ । देब्रे हातले नै कन्याउँछ । उसलाई सुत्न फेरि असहज हुन्छ । सुत्न

ठ्याक्कै उसलाई किन असहज भएको हो थाहा पाउँदैन ।

ऊ दाइने कोल्टे फर्किन्छ । दाइने पाखुराको सिरानी लाउँछ । दाइने हात कुइनोमा बाङ्गिएको छैन । कुइनोमुनि उसको हात छैन ।

–ऊ माथि–करिब सय मिटर माथि–काग उड्दै छ । उसले देख्दैन ।

आँखा चिम्म गर्छ । आँखा खोल्छ ।

–उसको घरको गेटअगाडिबाट एउटी महिला जान्छे । उसको पाठेघरमा १४ हप्ताको गर्भ छ । गर्भमा छोरी छ । उसले थाहा पाउँदैन ।

उसलाई गलैंचा बिजाउँछ ।

–टोलमा बत्ती जान्छ । आफ्नै घरमा बत्ती गएको उसले चाल पाउँदैन ।

देब्रे हात टेकेर उसले जीउलाई आधा उठाउँछ । भुइँमा हेर्छ । देब्रे हातले भुइँ सफा गर्छ । उत्तानो सुत्छ । खुट्टा पसार्छ । देब्रे हात पेटमा राख्छ । दाइने पाखुरा गलैंचामा छोडिदिन्छ । फेरि देब्रे कोल्टे सुत्छ । उसले सुन्ने देब्रे कान हातको पाखुराले थुन्छ ।

–एउटा हाइड्रोसिल भएको लोग्नेमान्छे उसको घरको गेट बाहिर उभिएर गेटमा हातले हिर्काउँछ । ढ्याङढ्याङ । उसले सुन्दैन । बिजुलीको मिटरको बिल गेटमै छोडेर जान्छ । उसले देख्दैन ।

सुतेरै उसले हाच्छिउँ गर्छ ।

–उसले लगाएको खैरो कपडाको पाइन्टको दाइने खुट्टाको बाहुलाबाट झुसिलकीरा चढ्छ । पाइन्टभित्र छिर्छ । उसले महसुस गर्दैन ।

ऊ निदाउँछ । निदाएकै बेला उसको तिघ्रामा नमज्जाले चिलाउँछ । कन्याउँछ ।

–उसले लगाएको घडीमा ३ बज्छ । उसले चाल पाउँदैन ।

ऊ ब्युँझिन्छ ।

–घडीमा समय ठ्याक्कै ४ः३० बज्छ । उसले चाल पाउँदैन । ४ः३१ मा उसले घडी हेर्छ र ४ः३१ बजेको चाल पाउँछ ।

उसले दाइने आँखाबाट कचेरा झिक्छ । औंलाको कचेरा हेर्छ । फ्याल्छ । पाइन्टमा हात पुस्छ । आँखा चिम्म गर्छ । निदाउँछ ।

–ठीक त्यसै बेला उसको एउटा छिमेकी निकै घण्टा बितिसकेको पत्रिकामा आफ्नो राशिफल पढ्छ । ‘सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । मानसिक स्वास्थ्यप्रति सजक रहनु होला । कसै ९जीवित वा निर्जीव वस्तु० द्वारा तपाईं आक्रमणमा पर्न सक्नुहुन्छ ।

ऊ घुर्छ ।

–ठीक यसै बेला पशुपति आर्यघाटमा ५ वटा लास जल्छन् । चिसो छ, दाउरा बल्दैन । धूवाँ धेरै आउँछ । आफन्तहरू रुन्छन् । आफन्तहरू हाँस्छन् । आफन्तहरू कुरा गर्छन् ।

–ठीक यसै बेला देशभरिमा १५ सय शिशु जन्मिन्छन् ।

ऊ घुर्दैन । सास फेरेको आवाज जोडले आउँछ ।

–ठीक यही बेला चीनकी आइकोनिक ट्र्याक्टर ड्राइभर लियाङ जुनको ९० वर्षको उमेरमा मृत्यु हुन्छ ।

–आफ्नी आठ महिनाकी बच्चासहित हराएकी अस्ट्रेलिया, ब्रिजबनकी १७ वर्षे आमा पेइज सोलेमन भेटिन्छिन् ।

–ब्युटिसियन लिजा मारिया आर्मस्ट्रङले आफ्ना बुबालाई श्रद्धाञ्जली दिँदै भन्छिन्, ‘तपाईं सधैं मेरो मुटुमा रहनु हुनेछ’ र बुबाको सम्झनाका लागि शरीरमा ट्याटु खोप्छिन् ।

उसले दाहिने खुट्टा खुम्च्याएर आकाशतिर ठड्याउँछ ।

–स्पेनको पार्तोरिको सहरमा आफ्नै घरमा नयाँ वर्ष मनाइसक्नेबित्तिकै एक दम्पती र तिनका जुम्ल्याहा छोराहरूलाई आतंककारीहरूले मार्छन् ।

–हंगेरियन–क्यानेडियन गणितविज्ञ यानुस एच्जेलको ९५ वर्षको उमेरमा बुढेसकाल लागेर मृत्यु हुन्छ ।

–वीर अस्पतालमा जुम्ल्याहा बच्चा जन्मिन्छन् । एउटाको मृत्यु हुन्छ, अर्कोको मृत्यु अहिले हुँदैन ।

उसलाई जाडो हुन्छ ।

–भारतीय सैनिक प्रमुखले चाइना बोर्डरमा सैन्य सुरक्षा कडाइ गर्छन् ।

–‘मेरे बचपनका हिन्दुस्तान न बंगलादेश न पाकिस्तान’ गाउने गायक मशहुर शायर अजमल सुल्तानपुरीको ९५ वर्षको उमेरमा मृत्यु हुन्छ ।

–अमेरिकी राजदूतावास बग्दादमा बम प्रहार हुन्छ ।

–चीनको हस्तक्षेप रोक्नका लागि ताइबानले घुसपैठविरोधी कानुन पारित गर्छ ।

–इजिप्टियन अभिनेत्री मग्ला अल सबाहीको ८९ वर्षको उमेरमा मृत्यु हुन्छ ।

–साउदी अरबले यमनमा हस्तक्षेप गर्छ ।

–अत्यधिक लागूपदार्थ सेवनका कारणले अमेरिकी र्‍यापर लेक्सी अलिजाईको २१ वर्षको उमेरमा मृत्यु हुन्छ ।

–रारा तालमा असला माछा भकाभक मर्छन् ।

–काभ्रेमा दम्पती हत्याका अभियुक्तहरू २८ वर्षपछि पक्राउ पर्छन् ।

ऊसले जीउलाई पूरै डल्लो पारेर खुम्चिएर सुत्छ ।

–रसियन वैज्ञानिक अलेक्सान्डर अलेक्सान्ड्रोविच ब्लागात्राभोभको ८६ वर्षको उमेरमा मृत्यु हुन्छ ।

–हेटौँडामा आधिकारिक तरकारी बजारको उद्घाटन हुन्छ ।

–एनसेल टावरमा आगो लाग्छ ।

–रौतहटमा ४ युवकले ११ वर्षे बालिकाको बलात्कार गर्छन् ।

–भ्रमण वर्षमा ३५ लाख पर्यटक ल्याउने घोषणा पर्यटनमन्त्रीले गर्छन् ।

–इन्डोनेसियाका फिल्म निर्देशक क्रिस पट्टिकावाको ७९ वर्षको उमेरमा मृत्यु हुन्छ ।

–मोरङको सुन्दर हरैँचा गाउँपालिका पशु स्वास्थ्य केन्द्रमा ३ वटा होलिस्टेन गाईको कृत्रिम गर्भाधारण गराइन्छ ।

–प्रतिष्ठित बैंकले १८ जना दुखियारीको तस्बिरसहित र ८ जनाको तस्बिररहित तीनपुस्ते नाम, थर र सम्पूर्ण विवरणसहित प्रतिष्ठित पत्रिकामा ऋण भुक्तानीको ३५ दिने सूचना प्रकाशित गर्छ ।

ऊ ब्युँझिन्छ । ढाड चिलाउँछ । कन्याउँछ । नाकमा झिँगा बस्छ । धपाउँछ । ऊ अझै त्यहीँ छ । उसको हातमा रातो रगत कटकटिएको छ । आमा अस्पतालमा छिन् ।

उसलाई थाहा लाग्छ । भविष्य मिथ्या हो । ऊ हेर्छ, सोच्छ, भविष्य देख्दैन । सुइँकोसम्म पाउँदैन । भविष्यको कतै अस्तित्व नै छैन । खासमा भविष्य नै छैन । कोही बहुलठ्ठीले भविष्य भन्ने नाम दियो । जुन कुराको यो संसारमा उपस्थिति नै छैन ।

ऊ जसरी भूत, भगवान् र भाग्य हुँदैन भन्ने कुरामा विश्वास गर्छ । त्यसरी नै भविष्य पनि छैन भन्ने कुरामा झन् विश्वस्त हुन्छ ।

आमा अस्पतालमा छिन् । ऊ कोल्टे फेर्छ । पैतालमा कमिला चड्छ । हातले प्याट्ट हिर्काउँछ ।

–सिँढीबाट बिस्तारै छतमा रातो कुकुर चढ्छ । कुकुरले उसको हातको रगत पत्तो पाउँछ । सुँघ्छ । छिमेकीको घरमा रुवावासी सुरु हुन्छ । रुवावासी सकिन्छ ।

–पुस १६ अर्थात् जनवरी १ । बाँकी छिमेकी ग्रेगोरियन नयाँ वर्ष मनाउँछन् ।

उत्तानो सुतेको ऊ घोप्टो परेर सुत्छ । हातको सिरानी लाउँदैन । दाहिनेपट्टिको गाला गलैंचामा टाँस्छ । उसको कानको लोतीमा कमिला छ । कमिला बिस्तारै कानको प्वालतिर प्रवेश गर्छ ।

यो समाचार कान्तिपुर बाट साभार गरिएके हो