स्पेनिस ला लिगामा रियल म्याड्रिडले उपाधि दौड बलियो बनाउँदै लगेको छ । शीर्षस्थानमा रहेको रियलले घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–१ गोलले हरायो ।

जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता लिएको छ । रियललाई सानदार जित दिलाउन इडुआर्डाे कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्काे असेन्सियोले गोल गर्नुभयो । रियल सोसिडाडका मिकेल ओयरजावालको सुरुवाती गोल सान्त्वना बन्यो ।

मिकेलले १०औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभएको थियो । ड्यानी कार्भाजलले डिबक्सभित्र डेभिड सिल्भामाथि फल गरेपछि सोसिडाडले पेनाल्टीमा मौका पाएको थियो ।
गोल खाएपछि आक्रामक बनेको रियलले ४०औँ मिनेटमा बराबरी गोल फर्कायो । इडुआर्डाे कामाभिंगाले लुका मोड्रिचको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउनुभयो । ४३औँ मिनेटमा लुका मोड्रिचले करिम बेन्जेमाको पासमा गोल गर्दै रियललाई अगाडि बढाउनुभयो ।

७६औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई थप बलियो बनाउनुभयो । विपक्षी अरिट्ज इलुसटोन्डोले भिनिसियस जुनियरलाई लडाएपछि रेफ्रीले भिएआरको सहायतामा रियललाई पेनाल्टी दिएका थिए । ७९औँ मिनेटमा मार्काे असेन्सियोले ड्यानी कार्भाजलको पासमा गोल गर्दै रियललाई सानदार जित दिलाउनुभयो ।

जितसँगै रियलले २७ खेलबाट ६३ अंक बनाएको छ । दोस्रो स्थनमा रहेको सेभियाको ५५ अंक छ । रियलसँग पराजित सोसिडाडको ४४ अंक सहित छैटौँ स्थानमा छ । अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभिया अलाभेससँग अन्य खेलमा गोलरहित बराबरीमा रोकिएको छ । अन्य खेलमा ओसासुनाले भिल्लारियललाई १–०, स्पान्योलले गेटाफेलाई २–० र यालेन्सियाले ग्रानाडालाई ३–१ गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो