हेटौंडा । हेटौंडाको टोल विकास नगर समन्वय समितिले आन्दोलनका कारण सेवा प्रवाह प्रभावित बनेका हेटौंडाको ३ वटा वडा कार्यालयलाई कम्प्युटर सहयोग गरेको छ । आन्दोलनबाट कार्यालयको सेवा सञ्चालनमा अवरोध सिर्जना भएको अवस्थामा हेटौंडा–३, हेटौंडा–११ र हेटौंडा–१९ वडा कार्यालयको सेवालाई सहज तरिकाले सुचारु पार्ने उद्देश्यले मंगलबार कम्प्युटर सहयोग गरेको हो ।

टोल विकास संस्थाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले संस्था सदैव समाज र नगरप्रति उत्तरदायी रहँदै आएको बताए । आन्दोलनका कारण प्रभावित सेवाहरूलाई छिट्टै पुनः सञ्चालन गर्न र डिजिटल कार्यप्रणालीलाई सहज बनाउन कम्प्युटर हस्तान्तरण गरेका उनले बताए ।

कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा नागरिक समाजका सदस्यहरूले टोल विकास संस्थाको यो कदमलाई स्वागत गरेका थिए । उनीहरूले सामाजिक संघ–संस्था र नागरिकले आफ्नो दायित्व बुझेर नगरप्रति योगदान गर्नुपर्नेमा जोड दिए । टोल विकास संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा हेटौंडा–३ का वडाध्यक्ष ढलकबहादुर थापा, ११ की वडाध्यक्ष जुना दहाल र १९ का वडाध्यक्ष नरनाथ सुवेदीको उपस्थिति रहेको थियो ।