Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

साउनको चौँथो सोमबार ः टन्टलापुर घाममा हजारौँ भक्तजन पशुपति क्षेत्रमा

  साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौँथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ । विगतका तीन वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगतका तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो । आज भने बिहानैदेखि काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ । भक्तजनलाई विगतका सोमबार साउने झरिले पनि लाम लाग्न रोकेको थिएन । यसैगरी आज भने टन्टलापुर घाम लाग्दा पनि भक्तजन डगमगाएका छैनन् । छाता ओढेर भए पनि भगवानलाई शुद्ध जलसहित पूजाआराधना गर्ने धोकोले लाममा बसेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा दर्शन एवं पूजा, आराधनाका लागि लाम लाग्ने भक्तजनमा दुई तिहाई भन्दा धेरै महिला छन् । साउनको सोमबार अधिकांश महिला पारिवारिक सुख, शान्तिको कामनाले व्रत बस्ने गर्छन् । यसैकारण पशुपति क्षेत्रमा जम्मा हुने अधिकांश भक्तजन महिला भएको कोषको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । साउनको सोमबार विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा विवाहित महिलाको मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यसैगरी अविवाहित महिलाले सुयोग्य वर प्राप्त गर्ने विश्वास रहिआएको छ । यसै विश्वासका आधारमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । दक्षिणकाली नगरपालिकाबाट पशुपतिनाथमा दर्शनका लागि आउनुभएकी सविता न्यौपाने बिहान नौ बजे आएर तीन घण्टा लाम बसेर मन्दिरभित्र प्रवेश गर्न सफल भएको बताउनुहुन्छ । विगतका सोमबार घर नजिकैका अन्य शिवालयमा पूजाआराधना एवं दर्शन गरेपनि कम्तीमा एउटा सोमबार भने पशुपतिनाथको दर्शन गर्ने चाहनाले पशुपति क्षेत्रमा आएको उहाँले सुनाउनुभयो । राजधानीका सबै शिवालयमा भक्तजनको भीड राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छन् । राजधानीका भित्री सहर एवं वरिपरिका नगरपालिकाका साना, ठूला शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । ती शिवालयमा विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै पूजाआराधना गरिरहेका छन् । साउने सोमबारको व्रत बस्नेले कुनै न कुनै शिवालयमा गएर पूजा, आराधना र दर्शन गर्ने गरेका छन् । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ । महिलाले मात्र साउनको सोमबारको व्रत गर्ने भन्ने चर्चा शास्त्रीय नभएको उहाँले सुनाउनुभयो । घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यसवर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् । गोकर्णेश्वरमा बालयन्त्रको दर्शन गर्ने पुगे भक्तजन राजधानीको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजाआराधना गर्ने प्राचीनकालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरी गोकर्णेश्वरमा भक्तजनको भीड लाग्ने गर्छ । वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिरको दर्शनका लागि राजधानीका साथै विभिन्न जिल्ला एवं भारतबाटसमेत भक्तजन आउने गरेका छन् । धार्मिक मान्यता अनुसार श्रीयन्त्रको पूजा आराधना गरेपछि बालयन्त्रको पनि पूजाआराधना गर्नुपर्ने मान्यताका आधारमा गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको हो । सुन्दरीजल–पशुपतिनाथ बोल बम यात्रीको लर्को वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने परम्परा छ । साउनको चौँथो सोमबार आज पशुपतिनाथ काँवरिया समितिको आयोजनामा सुन्दरीजलबाट पशुपतिनाथ जल ल्याएर चढाउने भक्तजनको भीड लागेको छ । यसरी जल चढाउने परम्परालाई भक्तजनले ‘बोल बम’ भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा छ । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने शास्त्रीय मान्यता छ । नागेश्वरमा ४ बजेदेखि भक्तजनको लाम पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोनाका बिरामी बढ्न थालेकाले दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी मास्क, स्यानिटाइजर वितरण गरी सक्दो दूरी कायम गरेर दर्शनको व्यवस्था मिलाइएकोे नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो । कोरोनाअघि मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गर्दथ्यो । साउन महिनाको सोमबार पारेर नागेश्वर महादेव मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए त्यसबाटसमेत राहत मिल्ने धार्मिक विश्वास छ । यसैगरी काठमाडौँ उपत्यकाका अन्य शिवालय भक्तपुरको डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यसैगरी देशभरका अन्य शिवालयमा पनि साउनको चौँथो सोमबार भक्तजनको भीड लागेको छ । चान्द्रमास अनुसार भने आज साउन महिनाको अन्तिम सोमबार हो । सौरमास अनुसार भने साउन ३० गते अन्तिम सोमबार रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology