अन्तरबोधको उच्छवास
विचारप्रवाह भएको पुस्तक, समय र संवेदना पक्रेको पुस्तक, तर ती कुनै न कुनै रूपमा भूगोल, संस्कृति र इतिहास नबिर्सी लेखिएका हुन् । निजी जीवनका सस्ता कुण्ठा, आवेग, आक्रोश र गाली होइन, फगत चिन्ता र चासो होइन चिन्तन भएको होस् । त्यो चिन्तन अझ चैतन्यउन्मुख होस् । बयान, वर्णन र विवरणको भारी नहोस् । छ्याङ्ग र उदाङ्ग लेखन होइन, पढ्दा पाठकले आफ्नो बौद्धिक बल पनि प्रयोग गर्न पाओस् । कहिलेकाहीँ नबुझ्दा पनि बुझेभन्दा मजा हुन्छ । पाठकले आफ्नै दाँतले टोक्न पाओस् आफूले खाने अम्बा । म त्यस्ता पुस्तक खोजिरहन्छु ।
मेरो महाकाव्य ‘अग्नि’ लेखन करिबकरिब सकिनैलाग्दा बालकृष्ण समको ‘चिसो चुल्हो’, लक्ष्मीप्रसाद देवकोटाको ‘प्रमिथस’ र जगदीश शमशेर राणाको ‘नरसिंह अवतार’ फेरि पढेँ । तपाईंलाई लाग्ला, पुरानै किताब घोटेर के फाइदा रु तर, यी किताब नेपाली काव्यलेखनका ‘ट्रेन्ड सेटर’ हुन् ।
दलित विषयले प्रवेश पाएको महाकाव्य हो– ‘चिसो चुल्हो’ । आधुनिक चेतना र पौरस्त्य दर्शनको बीचबाट यो अघि बढेको छ । दार्शनिक विचार, अध्ययन र परिपक्वता, लेखनको शिल्प र प्रवाहभन्दा बढी बौद्धिकताको सघन रन्को छ यसमा । क्रान्तिकारी चेत र लेखकीय सबल पक्ष घनीभूत छ ।
‘प्रमिथस’ विद्रोह हो । यो स्वर्गको आगो चोर्ने ग्रीक कथामा आधारित छ । आगो केवल आगो होइन, चेतनाको मुस्लो हो । त्यही चेतनाको विस्तार हो आजको लोकतन्त्र । कवि हुनु, महाकाव्य उन्मुख चेतना हुनु र ती सबैलाई मौलिक चिन्तनको नेपालीकरणमा देवकोटेली कल्पनाशीलता मिसिनुरमिसाउनुले देवकोटा साँच्चै महाकवि देवकोटा भएर देखा परेका छन् ।
काव्य लेख्नु र लेखिनुको दम केवल घटनाको वर्णन र कथ्य प्रवाहको सिलसिला मात्र होइन । जीवन र जगत्लाई हेर्ने विशाल दृष्टिविन्दु र कवि उभिने कवित्वको उपल्लो उकालो पनि हो । लेखककै करियाजस्तो भएर लेखकले भनेकै कुरामा बाँधिनु पर्दैन कुनै पाठकले । ऊ काव्य प्रवाहमा बग्दै आफ्नै अनुभूतिमा खेल्न र रमाउन पाउँछ । ‘प्रमिथस’ भित्र छिरेपछि एक पाठक उन्मुक्त भएर आफ्नै जीवनदृष्टि खोज्ने तहमा पुग्छ । चिन्ता होइन चिन्तन भेटिन्छ र चेतनाको रापले पाठकलाई अन्तरबोध गराउँछ ।
‘नरसिंह अवतार’ आजकै समयजस्तो । न ‘नर’ न ‘सिंह’ जस्तो, न ‘जल’ न ‘थल’ जस्तो । द्वैध रूप, द्वैध चिन्तन र द्वैध चरित्र १ न ‘दिन’ न ‘रात’, न ‘भित्र’ न ‘बाहिर’, न ‘जल’ न ‘थल’ । जति बलियो भने पनि बलियोको एउटा नयाँ विकल्प त आउँदो रहेछ । विकल्पहीन केही हुन्न र केही छैन भन्ने यस काव्यमा भाषिक, चिन्तन र लेखकीय प्रवाह बेजोड छ ।
काव्य आनन्दका बेला दुर्वोध पनि बोध भएझैं लाग्छ । काव्य पढ्दाको मजा त शब्दशब्दले देओस् झट्का, हरफहरफले देओस् हरियो विश्वास र अनुच्छेदअनुच्छेदले देओस् अन्तरबोधको पाठकीय उच्छवास, जसरी रालोले घन्टलाई हानेर छाडेपछि धेरैबेरसम्म आइरहन्छ लामो रन्को ।
धरातलको खोजी
पढ्नैका लागि पढिने एउटा पुस्तक दोकानमा राखिएका कुनै वस्तुका स्पेयर पार्टजस्ता मात्र हुन्, कारखाना होइनन् । पुरानो मोह भन्नुस् वा धरातलको खोजी नेपाली साहित्य हुनुको जगमा केही विशेषता छन्, तिनलाई गहिरिएर बुझ्नु जरुरी छ । धार्मिकजस्ता लाग्ने वेद, गीताजस्ता सनातनी ग्रन्थहरूका अतिरिक्त किरात, मैथिली, बौद्ध, उपत्यकाको नेवारी र पहाड, हिमालतिरका जनजाति संस्कृतिको मिथ र विस्तृति नबुझी नेपाली समाजै बुझिन्न । समाज नै नबुझी कसरी बुझिन्छ सामाजिक मनोविज्ञान रु
समाज, समय र मान्छे बुझेपछि मात्रै हो जीवनको जटिलता बुझ्ने । त्यो जटिलतामा अभाव, गरिबी, प्रविधिको प्रभाव, राज्य सत्ताबाट हुने शोषण, वातावरण र पर्यावरणका साथै आज समयले उठाएका जातीय, भौगोलिक, पहिचान र प्राप्तिका अनेकन प्रश्न क्रमशः देखा पर्छन् । मुद्दाका लागि मुद्दा र घटनाका लागि घटना उठाएर सपाट वर्णनको कोरा अक्षरनक्सा कसरी साहित्य हुन सक्छ रु नेपाली भाषामा लेख्दैमा साहित्य नेपाली हुँदैन । संसारभर छरिएर बाँची बसेका सबै नेपालीका संवेदनाको अन्तरमा प्रवेश गर्दा ती सबैसँग आ–आफ्नो पहिचानको सुगन्ध छ । त्यो सुगन्ध बिर्सेको दिन कुनै पनि अत्तरले हाम्रो शरीर मगमगाउँदैन ।
पुस्तक अर्थात् अक्षरतत्त्व
जुन विधा समाएर लेखे पनि आफ्नो भाषाका केही लेखकलाई सम्पूर्णतामा बुझ्ने कोसिस गर्नुपर्छ । सम, देवकोटा, माधव घिमिरे, लेखनाथ पौड्याल र भानुभक्त एउटा पक्ष हो । भूपि शेरचन, गोपालप्रसाद रिमाल, बैरागी काइँला र तुलसी दिवसहरू काव्यधाराका अर्का पक्ष हुन् । बीपी कोइराला, शङ्कर लामिछाने, पारिजात, इन्द्रबहादुर राईहरूको आ–आफ्नै मौलिकता र मिठास छन् । मलाई फुत्त एउटा पुस्तकभन्दा पनि कुनै पनि लेखकलाई लेखकीय समग्रतामा हेर्न मन पर्छ । विजय मल्ल, ध्रुवचन्द्र गौतम, सरुभक्त, नयनराज पाण्डे तथा समालोचकको उपल्लो पहिचान भएर पनि मौलिक लेखनका लागि समेत अब्बल गोविन्दराज भट्टराई र अभि सुवेदीका पुस्तकहरू पनि सुपाठ्य छन् । खासमा पुस्तक भनेको अक्षरतत्त्व हो । कुन अक्षर राम्रो भनूँ कुन नराम्रो रु तर, पुस्तक पढेर विचार प्रवाहलाई सशक्त बनाउने, चेतना परिष्कार गर्ने र अन्तर उज्यालो खोज्ने हो भने वैचारिक पुस्तक खोज्नुपर्छ, जसको जगमा भूगोल, इतिहास र संस्कृति होस् र लेखियोस् समय, समाज र मान्छेको संवेदना ।
पुस्तकले प्रेम दिन्छ, परिष्कार दिन्छ र हिँड्न चाहनेका लागि बाटो दिन्छ । पुस्तक नभए हिँड्ने बाटो नपाएजस्तो, रुने साथी नभेटेजस्तो र मुस्कुराउने घाम नदेखेजस्तै लाग्छ ।
यो समाचार कान्तिपुर बाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्