काठमाडौँ — लागत विश्लेषणसम्बन्धी मापदण्ड लागू भएसँगै विशेष प्रकृतिका आकर्षक पुल निर्माण गर्न बाटो खुलेको छ । यसअघि बाह्य मुलुकमा निर्माण भएका पुललाई नेपालमा निर्माण गरिने पुलसँग तुलना गरेर लागत निकाल्ने गरिन्थ्यो ।
अब मापदण्ड बनेर लागू भएकाले त्यो समस्या नरहने सडक विभागअन्तर्गतको पुल महाशाखाले जनाएको छ । विभागले मापदण्ड बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले गत फागुन १६ मा उक्त मापदण्ड पारित गरेको महाशाखाका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठले बताए ।
उनका अनुसार पहिला निर्माणमा प्रयोग हुने बालुवा, गिट्टी, ढुंगा सबै जोडेर लागत निकाल्ने गरिन्थ्यो । जसका कारण समय धेरै लाग्ने हुन्थ्यो । डिजाइन गरेर आयोजना कार्यालयहरूले दिने गर्थे । ‘जसले गर्दा खोलामा पिलर राख्दा जमिनमुनि समस्या आए निर्माण व्यवसायीले आयोजना कार्यालयलाई दोष देखाएर काम नगर्ने प्रवृत्ति थियो,’ श्रेष्ठले भने, ‘मुद्दामामिलामा जाने जस्ता समस्या हुन्थ्यो । पछि डिजाइन एन्ड बिल्ड प्रणालीमा गयौं, जसले गर्दा यी समस्या कम हुँदै गए ।’ अब डिजाइन निर्माण व्यवसायी आफैंले गरेपछि आयोजना कार्यालयलाई दोष दिन पाउने छैनन् । नयाँ मापदण्डअनुसार पुलको लम्बाइ निर्क्योल भएपछि सकजै लागत निकाल्न सकिनेछ ।
‘पहिला बनिसकेका सय वटा पुलको लागत निकाल्यौं । एक मिटर बराबर कति लागत लाग्छ भन्दै त्यसको औसत लागत निकालेर काम गरिरहेका थियौं । विशेष प्रकृतिका आकर्षक पुल बनाउनेबारे मापदण्ड थिएन,’ उनले भने, ‘विभागीय प्रमुखले अन्तरिम मापदण्ड स्वीकृत गरेर पुल निर्माणको काम भइरहेको थियो ।’ जुन सामान्य पुलहरूका लागि मात्र थियो, विशेष र ‘सिग्नेचर’ पुलका लागि थिएन । यसो गर्दा महालेखा परीक्षकको कार्यालयले बर्सेनि धेरै बेरुजु निस्किएको औंल्याउँदै आएको थियो ।
‘नयाँ मापदण्ड पास भएर लागू भइसकेको छ । जसले गर्दा समयमै काम सकिने, विवाद नहुने, गुणस्तरीय काम हुन्छ भन्ने हो,’ उनले भने, ‘मापदण्डमा सामान्य पुलदेखि सस्पेन्सन, केबल स्टेइड पुलको लागत इस्टिमेट छ ।’ विशेष प्रकृतिको पुलका रूपमा कर्णाली चिसापानीमा जापानले बनाइदिएको केबल स्टेइड पुल पर्छ । चितवन तनहुँ जोड्ने मुग्लिङको पुरानो पुल सस्पेन्सन पुल हो । उनका अनुसार यस्ता पुलको पहिला डिजाइन एन्ड बिल्डमा लागत नै निकाल्न सकिँदैन थियो । हाल यस्ता पुल कसरी बने र लागत कति पर्यो भन्नेबारे सबै अध्ययन गरेर अहिलेको मापदण्ड बनाइएको हो ।काठमाडौंको बिजुलीबजारमा ‘नेटवर्क आर्क’ पुल बनेर सञ्चालनमा आए पनि विभागले यसको सुरुमा लागत इस्टिमेट निकाल्न सकेको थिएन । यसअघि बनेका केही पुलको लागत अनुमान हेरेर ठेक्का गरिएको उनको भनाइ छ । ‘अहिले त्यसमा कति लागत लागेको छ र सामान्य पुलभन्दा कति गुणा बढी पर्नेबारे तुलना गरियो,’ उनले भने, ‘त्यही आधारमा सस्पेन्सन पुल बनाउँदा कति–कति लागत पर्छ, सबै मापदण्डमा राखेका छौं ।’
सस्पेन्सन पुलको पनि डिजाइन एन्ड बिल्डमा ठेक्का निकाल्न सकिने उनको भनाइ छ । नयाँ मापदण्डअनुसार सिग्नेचर पुल बनाउन सामान्य पुलको दुई गुणा बढी लागत लाग्नेछ । लागत हिसाब गरेर निकालेपछि जुन कम्पनीले ठेक्का लिन्छ, उसैले विदेशी विशेषज्ञ प्राविधिक ल्याएर पुलको डिजाइन गर्नेछ । ‘सबै जिम्मेवारी ठेक्का लिनेकै भएपछि मुद्दामामिला पनि नपर्ने भयो,’ उनले भने, ‘डिजाइन एन्ड बिल्ड सामान्य पुलमा मात्र हुन्थ्यो । विशेष खालको पुलका लागि मापदण्डै थिएन ।’ अब मापदण्ड बनेकाले सिग्नेचर र विशेष खालका पुल बनाउन सजिलो हुनेछ । ‘यससँग सम्बन्धित विशेषज्ञ प्राविधिक नभए निर्माण व्यवसायीले विदेशबाट डिजाइनर ल्याएर पनि काम गर्न सक्ने भए, नयाँ–नयाँ प्रविधि भित्रिने भयो,’ उनले भने, ‘त्यस्ता प्रविधि नेपालीहरूले पनि सिक्न पाउनेछन् ।’
प्रायः खोला, नदी गहिरो हुने हुँदा बीचमा पिलर राखेर पुल बनाउन समस्या हुने गर्छ । तर लामो र विशेष प्रकृतिका पुल बनाउन पाए खोलामा केही गर्न नपर्ने उनको दाबी छ । ‘खोला वारिपारि सुक्खा जमिनमा पिलर उठाएर सजिलैसँग पुल बनाउन सकिने भयो,’ उनले भने, ‘तर रकम भने बढी लाग्ने हुन्छ ।’ लागत महँगो भए पनि यस्ता पुल चाँडो निर्माण सम्पन्न गर्न सकिनेछ । ‘यही मापदण्डअनुसार २ वटा पुल निर्माण थाल्ने तयारी पनि भइसकेको छ,’ उनले भने, ‘एउटाको ठेक्का नै भइसकेको छ । अर्कोको पनि ठेक्का गर्ने तयारी हुँदै छ ।’ उनका अनुसार पाल्पा र स्याङ्जा जोड्ने राम्दी खोलामा सिग्नेचर पुल निर्माण गर्न ठेक्का भइसकेको छ ।
त्यस्तै, रुकुम र जाजरकोट जोड्ने भेरी नदीमा मटेला पुल निर्माण गर्न ठेक्का आह्वान गर्ने अन्तिम तयारी रहेको उनले बताए । दुवै पुलको लम्बाइ सय मिटर हुनेछ । ‘यो नदीमा खोंच छ । नदीको धार परिवर्तन गर्ने ठाउँ नै छैन । बीचमा पिलर हाल्नै सकिँदैन,’ उनले भने, ‘अहिले पुल बन्ने ठाउँभन्दा तल १० वर्षअघि नै ठेक्का भए पनि पुल बन्न सकेको छैन ।’ यो खण्डमा पुल नहुँदा चौरजहारी विमानस्थलबाट झरेपछि वारपार गर्न समस्या हुने गरेको छ । पुल बने आउजाउ समस्या समाधान हुनेछ ।
यो समाचार कान्तिपुर बाट साभार गरिएके हो ।




















प्रतिक्रिया दिनुहोस्