हेटौंडा । कमाने एक्सपर्ट भिजन-११ ले हेटौंडा-८ कमानेमा जारी चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको खेलमा २ जीत निकालेको छ । लिग चरणको ३ खेल खेलेको कमाने एक्सपर्ट भिजन-११ मंगलबारको खेल सकिँदासम्म २ जीत निकालेको छ भने एक हार व्यवहोरेको छ । पहिलो खेलमा कमाने एक्सपर्ट भिजन-११ कमाने इप्लानेट ब्लास्टरसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा कमाने राइडर्सलाई ७१ रनले कमाने एक्सपर्ट भिजन-११ ले हराएको थियो ।
मङ्गलबार भएको पहिलो खेलमा कमाने एक्सपर्ट भिजन-११ ले कमाने थर्ड आइ जापानलाई १ सय ८६ रनले सहजै पराजित गरेको छ । पहिले व्याटिङ गरेको कमाने एक्सपर्ट भिजन-११ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । कमाने एक्सपर्ट भिजनका लागि असीम श्रेष्ठले २८ बलमा सर्वाधिक ६० रन बनाउदै अर्धशतक प्रहार गरेका थिए । सन्जीव थापाले पनि १४ बलमा ५४ रन बनाउदै अर्धशतकै प्रहार गरेका थिए भने मेराज देउवान ४० बलमा ४९ रन बनाएका थिए । बलिङ्तर्फ कमाने थर्ड आइ जापानबाट सन्देश भट्टराई, विशेष थापा र समीर मगरले १/१ विकेट मात्र लिन सकेका थिए ।
२ सय ४५ रनको लक्षय पच्छ्याएको थर्ड आइ जापानले १० ओभर ३ बलमा ५८ रन बनाउँदै अल आउट भएको थियो । थर्ड आइ जापानबाट तक्षक सिम्खडाले २६ रनको मात्र योग्दान दिन सकेका थिए । विशेष थापाले ११ रन र गोकुल चौलागाईंले ६ रनमा मात्रै सीमित भए । बलिङ्तर्फ कमाने एक्सपर्ट भिजनबाट सागर मगरले सर्वाधिक ६ विकेट लिएका थिए । श्याम सुन्दर यादवले २ विकेट र असीम श्रेष्ठले १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सागर मगर घोषित भएका छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ५/५ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट दिन घोषणा गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्