रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा दुई हिन्दी मुवी ‘डंकी’ र ‘सलार’ पुष ५ र ६ गते क्रमशः बिहीबार र शुक्रबार देखि रिलिज हुँदैछन् ।

शाहरुख खान र प्रभासजस्ता स्टार अभिनित यी फिल्मले उछाल ओपनिङ गर्ने पक्का छ । यी दुवै फिल्मको एड्भान्स टिकट बिक्री पनि सुरु भएको छ । भारतमा ‘सलार’ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’लाई उछिनेको छ । ‘सलार’ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’लाई २.४ करोड भारुभन्दा बढी पछि पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालमा पनि करिब यस्तै देखिएको छ । अग्रिम टिकट बिक्रीको कुरा गर्दा नेपालमा ‘सलार’को बुकिङ ८०देखि ९५ प्रतिशत हुँदा ‘डंकी’को टिकट बिक्री ५० देखि ७० प्रतिशत देखिएको छ ।

नेपालमा शाहरुखका अघिल्ला दुई फिल्म जवान र पठानको अग्रिम टिकट बिक्री खुलेको दुई दिनमै करिब सोल्डआउटको अवस्था थियो । तर ‘डंकी’को पूर्वकमाइमा सुस्तता देखिएको छ ।

अनुमानअनुसार राजकुमार हिरानी निर्देशित ‘डंकी’ राम्रो समीक्षा प्राप्त भएको खण्डमा लामो समय चल्न सक्छ । अर्कोतर्फ प्रशान्त नील निर्देशित ‘सलार’को ओपनिङ उत्कृष्ट हुन सक्छ ।

यसैबीच ‘डंकी’को टोलीले वितरकलाई ‘सलार’सँग स्क्रिन सेयर गर्न नचाहेको खबर पनि छ । शाहरुखका अघिल्ला फिल्म पठान र जवान हिन्दीसहित अन्य भाषामा पनि रिलिज भएका थिए तर डंकी हिन्दीमा मात्रै रिलिज हुने भएको छ । जबकि ‘सलार’ कुल पाँच भाषा तेलुगू, तमिल, हिन्दी, मलयालम र कन्नडमा रिलिज हुनेछ ।

केजीएफ, केजीएफ २ जस्ता फिल्म बनाएका प्रशान्त नीलले फिल्म ‘सलार’ निर्देशन गरेका हुन् । होम्बले फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन् । फिल्ममा प्रभाससहित श्रुति हसन, मधु गुरुस्वामी र पृथ्वी सुकुमार मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म ‘डङ्की’ सन् २०२३ मा रिलिज हुने शाहरुख खानको तेस्रो फिल्म हो । यसअघि उनका दुवै फिल्म पठान र जवान ब्लकबस्टर साबित भएका छन् । डंकीलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । हिरानीको ट्रयाक रेकर्ड हेर्दा उनको निर्देशनमा बनेका सबै फिल्म हिट भएका छन् । यस्तो अवस्थामा यो फिल्म पनि हिट हुने अपेक्षा गरिएको छ ।

तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम टिकट बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।