आगामी बैशाख १५ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ ।
सनम कुमार बैरागद्वारा निर्देशित फिल्म ‘कैदीको पत्र’को  करिब २ मिनेट ४७ सेकेन्ड लम्बाईको ट्रेलर ओएसआर डिजिटल बुधबार युट्युबमा सार्वजनिक गरिएको हो ।

‘कैदीको पत्र’को ट्रेलर अनुसार फिल्ममा एक युवक र उसको प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको अनुमान गर्न सकिन्छ ।
फिल्मको पटकथा तथा संवाद निर्देशक बैरागकै हो भने  रामेश्वर कार्कीको छायांकन गरिउको र सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएकाले दृश्यहरु निकै लोभलाग्दा देखिएका छन् ।

जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा आइपर्ने उतार चढाव र भोग्नुपर्ने कठिन परिस्थितिलाई फिल्मले देखाउन खोजिएको बुझिन्छ ।

कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका कलाकारको अभिनय छ ।

गीतहरुमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत, प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ ।

स्व.ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा आधारित रहेको फिल्म काठमाडौँ उपत्यकाभित्र जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्ने बताएको छ ।

दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मको निर्माता हुन् ।

फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ । फिल्मको मार्केटिङ श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ।