मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औं संस्करण शनिबारदेखि हुँदै छ।
धरान १६ स्थित रंगशालामा एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। धरान फुटबल क्लबले शुक्रबार रंगशालामा पत्रकार सम्मेलन गर्दै गोल्डकपको तयारी पूरा भएको जानकारी दिएको हो। उद्घाटन समारोहको प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङ राई रहने अध्यक्ष किशोर राईले जानकारी दिए। उद्घाटन समारोहलाई भव्य बनाउन ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको ९० जनाको टोलीले प्रस्तुति दिने पनि उनले बताए।
शनिबार प्रतियोगिताको उद्घाटन खेल आयोजक र युकेएफसी भारतबीच हुनेछ। प्रतियोगितामा केबिपिएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौं, बाग्मती युवा क्लब सर्लाही, केएफटिसी झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब गरी ८ वटा टोलीको सहभागिता रहनेछ। यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरूको सबै जानकारी उपलब्ध हुने व्यवस्था गरिएको पनि अध्यक्ष राईले जानकारी दिए।
प्रतियोगिताको फाइनल फागुन २० गते हुनेछ। विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ। उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने पनि आयोजकले बताएको छ। विगतमा उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउँदै आएका थिए।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्