भक्तपुरको ज्योति माध्यमिक विद्यालयले कविता लेखन प्रशिक्षण कक्षा सञ्चालन गरेको छ।
सूर्यविनायक वडा नं. ७ गुण्डुको किबाचोकस्थित सो विद्यालयले कविता लेखन प्रशिक्षण कक्षा सञ्चालन गरेको हो। माध्यमिक तहका विद्यार्थीलाई साहित्य तथा कविता लेखनबारे जानकारी दिएर उनीहरूमा रहेको सिर्जनात्मक क्षमता वृद्धि गर्न प्रशिक्षण दिइएको विद्यालयका प्रधानाध्यापक कृष्णलाल न्हेम्हाफुकीले बताए।
उनले अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जालमा भुल्दा उनीहरूको लेखन सिर्जनशीलतामा कमी आएको र त्यसको असर पढाइ र व्यवहारमा समेत परेको उल्लेख गर्दै ती क्रम घटाउन सो प्रशिक्षण कक्षा चलाइएको बताए। प्रशिक्षणले विद्यार्थीको साहित्यप्रति रुचि बढाउन सहयोग पुग्ने उनको भनाइ छ।
विद्यार्थीमा घट्दो साहित्यप्रतिको रुचि बढाउन र विद्यार्थीलाई कविता लेखन सीपको आधारभूत ज्ञान दिन सो प्रशिक्षण दिइएको विद्यालयले जनाएको छ।
सञ्चारकर्मी एवं स्रष्टा हरिसुन्दर छुकांले कविता लेखनबारे प्रशिक्षण दिएका थिए। प्रशिक्षक छुकांले भाषालाई सुन्दर बनाउन कविता लेखनले सघाउने चर्चा गर्दै साहित्यिक कृति पढ्दै लेख्ने अभ्यासलाई दिनचर्या बनाउनुपर्नेमा जोड दिएका थिए। उनले मोबाइल तथा सामाजिक सञ्जालमा बढी समय बिताउनुभन्दा बढी विभिन्न जानकारीमूलक र ज्ञानवर्द्धक पुस्तक अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिएका थिए।
सो क्रममा प्रशिक्षक छुकांले साहित्यको इतिहास, महत्वबारे चर्चा गर्दै कविताको प्रकार, कविता लेख्ने तरीकाबारे जानकारी दिएका थिए। उनले विद्यार्थी जीवनका लागि कविता र साहित्यको महत्त्वबारे प्रष्ट पार्दै साहित्यले व्यक्तित्व विकास, क्षमता विकासमा सहयोग गरी पठनपाठनमा पनि सहयोग गर्ने चर्चा गरेका थिए।
प्रशिक्षणमा सोही विद्यालयका शिक्षक सुरेश बखुन्छेंले पनि साहित्य र विद्यार्थी जीवनको महत्त्वबारे विद्यार्थीलाई जानकारी दिंदै कविता लेख्नका लागि अभिप्रेरित गरेका थिए।





























प्रतिक्रिया दिनुहोस्